तीन दिन नेपाल टेलिकमको एसएमएस सेवा निःशुल्क, आजै साँझदेखि यो व्यवस्था लागू
काठमाडौं । नेपाल टेलिकमले एसएमएस सेवा निःशुल्क गरेको छ । देशभरका बाढी–पहिरोको उद्धारमा सूचना आदानप्रदानमा सहजता सिर्जना गर्न टेलिकमले यो व्यवस्था गरेको हो ।
टेलिकमले देशैभरका नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताका निम्ति एसएमएस सेवा निःशुल्क गर्ने निर्णय आजै साँझबाट कार्यान्वयन गर्दै छ । यो सुविधा नेपाल टेलिकमका सबै मोबाइल प्रयोगकर्ताले प्रयोग गर्न पाउने छन् । यो सुविधा साउन ३१ गतेसम्म रहने टेलिकमले जनाएको छ ।
टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले अत्यावश्यक काम बाहेक अन्य प्रयोगकर्तालाई अनावश्यक रुपमा एसएमएस नगर्न आग्रह गरेका छन् । नेटवर्कमा जाम हुने समस्या हुन नदिन अत्यावश्यक बाहेक अन्य टेलिफोन प्रयोगकर्ताले यो सुविधान प्रयोग नगरिदिन उनले आग्रह गरेका हुन् ।
सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सूचना आदान प्रदान गर्न सहज होस् भनेर यो निर्णय गरेको जानकारी दिए ।