मुख्य समाचार

डा. केसीको आमरण अनसन नयाँ मोडमा, आईसीयुमा लगेर उपचार नथाले दुर्घटना हुने चेतावनी

डा. केसीको आमरण अनसन नयाँ मोडमा, आईसीयुमा लगेर उपचार नथाले दुर्घटना हुने चेतावनी

काठमाडौं । चिकित्सा शिक्षामा देखिएका विकृति र विसंगति हटाउन त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द केसीले थालेको अनसनले नयाँ रेकर्ड कायम गरेको छ । 

डा. केसीले आफ्नो दशौं पटकको आमरण अनसन २२ औं दिनमा तोडेका थिए । तर ११ औं पटक अनसन बसेको सोमबार २२ दिन पूरा भएको छ । तर माग पूरा हुने छाँट अझै देखिएको छैन ।

सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै उनी ९ साउनदेखि ११औं पटक आमरण अनसन बसेका हुन् । उनको १० औं आमरण अनसन २८ कात्तिक २०७३ देखि १९ मंसिरसम्म गरी २२ दिनसम्म चलेको थियो । त्यसअघिका अनसन २२ दिनभन्दा कम थियो ।

अनसनको २२ दिनसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र केपी ओलीदेखि उपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठ र स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेललगायतसँग भेटेर उनको अनसन छुटाउन निकै पहल गरे ।

प्रधानमन्त्री देउवाले डा. केसीको मागबारे छलफल गरेर मध्यमार्गी बाटो खोल्ने उपाय पहिल्याएका थिए । देउवाले डा.केसीको मागको विपक्षमा अडान राख्ने एमालेलाई पनि फकाउन निकै प्रयास गरेका छन् ।

डा.केसीको माग सम्बोधन गर्ने क्रममा प्रमुख विपक्षी एमालेसँग नजिक मानिएको मनमोहन अस्पताललाई सरकारले खरिद गर्ने विषयमा छलफल भएको थियो । यसका लागि आवश्यक पत्राचारका लाग पहल गर्ने विषयमा प्रधानमन्त्री देउवाको अध्यक्षतामा बैठकसमेत बसेको थियो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेता नारायणकाजी श्रेष्ठलगायत स्वास्थ्य र शिक्षा मन्त्रालयका अधिकारीको सहभागिता थियो ।

केही दिनअघि व्यवस्थापिका संसदको महिला बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण मन्त्रालयले पारित गरेर संसदको पूर्ण बैठकमा पठाएको चिकित्सा शिक्षा विधेयकले स्वीकृतिको बाटोमा रहेका केही निजी मेडिकल कलेजहरुको दर्ता प्रक्रियालाई सहज बनाउन छड्के बाटो राखेका कारण डा. केसीले सोमबारसम्म आफ्नो अनसन तोडेका छैनन् ।

उनको स्वास्थ्य स्थिति गम्भीर रहेको र जुनसुकै बेला पनि उनलाई भेण्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था आइसकेको भएतापनि यो पटक भने उनी आफ्नो मागमा कटिबद्ध देखिएका छन् । डा. केसीको निगरानी गरेर बसेका डाक्टरहरुले उनी बोल्नै नसक्ने अवस्थामा पुग्न लागेको बताएका छन् । २२ दिनदेखि अनशनरत डा. केसीलाई तत्काल आईसीयूमा लगेर उपचार नथाले दुर्घटना हुन सक्ने उनको निगरानी गरेर बसेका डाक्टरहरुले बताएका छन् ।

चिकित्सकहरुले सोमबार साँझ अचानक अक्सिजन स्याचुरेसन घट्नुका साथै छातीको पीडा असैह्य भएको बताएका छन् । डा.केसीलाई जसरी पनि आईसीयूमा लानै पर्ने अवस्था सिर्जित भएको उनीहरुको भनाइ छ । चिकित्सकहरुले डा. केसीको स्वास्थ्यलाई मध्यनजर गर्दै जबर्जस्ती भए पनि आईसीयूमा लैजानुपर्ने बताएका छन् ।

आफ्नो विगतदेखिको माग र सो मागमा केदारभक्त माथेमाले दिएको सुझावलाई हुबहु ऐनको रुपमा पारित नगरेसम्म आफ्नो माग नछोडने डा. केसीको अडान छ ।

उता, चिकित्सा शिक्षा विधेयक मंगलबार बस्ने संसद बैठकमा पेश नहुने भएको छ । व्यवस्थापिका संसदको सोमबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले पारित गर्ने विधेयकको सम्भावित कार्यसूचीमा सो विधेयकलाई नसमेटेकाले पेस नहुने देखिएको हो ।

चिकित्सा शिक्षा विधेयक अहिलेकै रुपमा जस्ताको तस्तै संसदमा जाने हो भने डा. केसीले उठाएका माग सम्बोधन नहुने पक्कापक्की छ ।

गत शुक्रबार नै संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिबाट विधेयक पारित भइसकेको छ । संसदबाट समितिमा चिकित्सा शिक्षा विधेयक संशोधनका लागि एक वर्ष पहिले आएको थियो ।

 

विशेष