दयाहाङकी कान्छी बन्दै स्वेता खड्का
काठमाडौं । चलचित्र ‘कान्छी’ निर्माण हुने भएको छ । राजधानीमा पत्रकार गरी ‘कान्छी’को औपचारिक निर्माणको घोषणा गरियो ।
आकाश अधिकारीले निर्देशन गर्ने यो फिल्ममा स्वेता खड्का र दयाहाङ राईको मुख्य भूमिका रहनेछ । श्रीमान तथा नायक श्रीकृष्ण श्रेष्ठको निधनपछि स्वेताले ‘कान्छी’बाट फिल्ममा कमब्याक गर्न लागेकी हुन् ।
फिल्मको निर्माण घोषणा कार्यक्रममा बोल्दै निर्देशक आकाश अधिकारीले ‘कान्छी’ विशुद्ध नेपालीपन बोकेको फिल्म रहेको बताए । उनले भने, ’गाउँमा अहिले अधिकांश युवायुवतीहरु विदेश पलायन हुँदा मलामी जाने मानिस पनि छैनन् । फिल्मले वैदेशिक रोजगारीको कथासँगै गाउँमा कान्छीले भोग्नु परेको दुःख बोल्नेछ ।’ यसअघि आकाश अधिकारीले स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ अभिनित फिल्म ’कोहिनूर’ निर्देशन गरेका थिए ।
पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा शम्भुजित बास्कोटा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको संगीत, बसन्त श्रेष्ठको नृत्य निर्देशन रहनेछ ।