जुम्लाको मैदानमा भलिबल खेलेका पूर्ण कसरी भए अन्तर्राष्ट्रिय स्तरका रेफ्री ? (भिडियोसहित)
पूर्णप्रसाद चौलागाईं
रेफ्री, भलिबल
नेपाली भलिबल जगतमा अन्तर्राष्ट्रिय स्तरका भलिबल रेफ्री औँलामा गनिन्छन् । नेपालमा रेहका तीनै पाँचजना अन्तर्राष्ट्रिय स्तरका रेफ्री (गौतमप्रसाद लासिब, कुलबहादुर राना, चन्द्रबदना राई र टहलसिंह थापामध्येका एक हुन् पूर्णप्रसाद चौलागाईं । जुम्लामा जन्मिएका पूर्ण भलिबल खेलेरै भलिबलका प्रशिक्षक भए । त्यसपछि राष्ट्रिय स्तरका रेफ्री र अहिले राष्ट्रियबाट अन्तर्राष्ट्रिय रेफ्री ।
भलिबललाई हातले उडाएसँगै उनको जीवनलाई पनि भाग्यले धेरै पटक उडायो । कयौँ पटक पछारिए त कयौँ पटक आफैँ उठे । भलिबलको नेटजस्तैै उनको जीवनमा पनि एउटै बार थियो । सपनाको बार र त्यसलाई तोड्ने साहस । समाज र घर परिवारमा बल खेल्यो भनेर उनले पाएको आलोचना र आफ्नो सपनाबाट टाढै राख्न खोज्ने जन्जिर थियो जो उनमा । तर, सपनाले मानिसलाई दिने साहसको कुनै अन्दाज नै नहुने रहेछ । पूर्ण आफ्नो विचार र लक्ष्यमा दृढ हुँदै गए ।
पूर्ण सानैदेख स्कुलमा वीरेन्द्र रनिङ सिल खेल्थे । एसएलसीको ट्युसन पढ्ने सिलसिलामा काठमाडौं आए । यहाँ पढ््ने क्रममा उनी एकदिन जावलाखेलस्थित चिडियाखाना पुगे । चिडियाखाना सँगै रहेको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भलिबल सिकिरहेको देख्नेवित्तिकै उनलाई पनि भलिबल सिक्ने रहर पलायो । उनी तुरुन्तै त्यहाँ गए र त्यहाँका प्रशिक्षकसँग कुरा गरेर भोलिपल्टदेखि नै भलिबल सिक्न जान थाले ।
तर, एसएलसी पछि भने उनी बक्सिङ सिक्न थाले । त्यहाँबाट २, ३ वर्ष ट्रेनिङ लिएर मज्जैले बक्सिङ खेल्दा खुट्टा भाँचिएपछि केही समयको अन्तरालमा पछि उनी फेरि बक्सिङलाई नै निरन्तरता दिन थाले । एकदिन भलिबलका चिफ कोच कपिलकिशोर श्रेष्ठले उनलाई भेटेर भनेछन्, ‘यत्रो हाइट भएको मान्छे के बक्सिङ खेलिरहेको ? खुरुक्क भलिबल खेल्न थाल । ’ गुरुले त्यसो भनेपछि बेलुका भलिबल, बिहान बक्सिङ र दिउँसो पढाई गर्न थाले ।
यस्तो दैनिकी हुँदा इन्टरमिडेटमा विषय लागेपछि उनले बक्सिङलाई पूर्ण रुपमा बन्द गरे र भलिबल खेल्न थाले । सुरु सुरुमा क्लवबाट धेरै राष्ट्रिय खेलहरुमा भाग लिने अवसर पाए । त्यस सँगसँगै रेफ्री बन्ने सपना पनि बुन्थे । त्यसको लगत्तै उनले २०१३ मा रिजनल रेफ्री कोर्स गर्ने मौका पाए । आफ्नो काममा डटेर लागेपछि अवसरका ढोका त्यसै खुल्दा रहेछन् । उनको जीवनमा पनि त्यस्तै भयो । त्यसको दुई वर्षपछि पोखरामा राष्ट्रिय रेफ्री कोस गर्ने मौका पाए भने त्यसपछि थाइल्याण्डको बैंककमा सिनियर रेफ्री रिफ्रेसमेन्ट कोर्र्स थियो ।
त्यहाँ पनि भाग लिने अवसर पाए । त्यसमा भाग लिएसँगै उनले आफूलाई रेफ्री बनाउनुमा पनि निखार गरे । अहिले उनी आफू हृदयदेखि नै भलिबल संघप्रति आभारी रहेको बताउँछन् ।
‘परिवारमा बल खेल्दा गालीमात्र होइन कुटाइ नै खाइन्थ्यो’ उनले बाल्यकालका किस्सा सुनाए । गाउँघरतिर पनि समाजमा पनि फलानाको छोरा काठमाडौं बसेर बल खेल्छ रे भनेर पनि कानेखुसी हुन्थ्यो । यस्ता कानेखुसीले कत्ति पनि असर नपारे पनि इन्टरमिडेटमा फेल हुँदा भने पछुतो लागेको उनले सुनाए ।
विदेशमा खेलाउँदा र नेपालमा खेलाउँदा आकाश पातालको फरक भएपनि नेपालमा केही विकास नभएको भने मान्दैनन् उनी । अहिले खेलाडी र रेफ्रीलाई दिने सम्मानमा फरक भएको उनले बताए । नराम्रो पक्ष कोट्याउँदै भने, ‘नेपालमा गेम खेलाउँदा झगडा पर्छ । तर, विदेशमा भने कहिल्यै झगडा पर्दैन ।’ झगडाको किस्सा सुनाउँदै उनले भने,‘ एक पटक सिन्धुपाल्चोकको पान्टाङमा हुँदा एउटा टिमले हारेपछि लखेट्नुसम्म लखेटे । धन्न हामीलाई भेट्न सकेनन् ।’
विशेषगरी खेल क्षेत्रमा उनीलगायत धेरैै खेलाडीहरुको गुनासो रहँदै आएको छ । हरेक वर्ष आउने बजेटमा खेलमा सबैभन्दा कम बजेट आउने गरेको भन्दै उनले भने, ‘राज्यले उचित व्यवस्था पनि दिन सकेको छैन । आम स्कुल लेभल र क्लबमा भलिबल खेल भनेर नेट पनि दिन सकेको छैन । अहिले भलिबलको विकास एकदमै राम्रो भइरहेको छ । राज्यलाई घच्घचाउने काम भने भलिबल संंघले गरिनै रहेको छ ।’
विशेषगरी गाउँमा धेरै राम्रा खेलाडी भएको उनी बताउँछन् । राज्यले अलिकति मात्र सहयोग पु¥याउने हो भने गाउँ गाउँबाट खेलाडी जन्मने कुरामा दुई मत नभएको उनले बताए । औपचारिक शिक्षा खेलाडी र रेफ्रीमा एकदमै चाहिने उनी बताउँछन् । भाषालाई एकदमै सुधार्नुपर्ने बताउँदै खेलाडी र रेफ्री बन्न चाहनेहरुलाई सैद्धान्तिक शिक्षामा पनि उत्तिकै जोड दिन सुझाउँछन् उनी । २०७० मा पोलिटिकल साइन्समा मास्टर्स गरेका पूर्ण अहिले पत्रकारितामा मास्टर्स गर्दै छन् । पत्रकाारिता खेलकुदमात्र नभएर आम क्षेत्रलाई परिवर्तन गर्ने माध्यम मान्छन् उनी ।
अहिले बक्सिङ राष्ट्रिय खेल पनि भइसक्यो । यति हुँदा हुँदै पनि राज्यले भलिबलबारे जनतालाई उचित ज्ञान दिन नसकेकोमा अझै गुनासो छ उनलाई ।
Purna Prasad Chaulagain Volleyball Nepal