समाज

बाढी प्रभावित जिल्ला बाँकेमा भाइरल रोगको प्रकोप

बाढी प्रभावित जिल्ला बाँकेमा भाइरल रोगको प्रकोप

खजुरा । बाँके जिल्लाका बाढी प्रभावित क्षेत्रहरुमा भाइरल रोगको प्रकोप देखा परेको छ ।

जिल्लाको राप्तीसोनारी, डुडुवा, नरैनापुर र खजुरा गाउँपालिकाका विभिन्न ठाउँमा बाढीबाट विस्थापितलाई ज्वरो, रुघाखोकी, झाडापखालालगायत रोगको संक्रमण फैलिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले आवश्यक औषधिसहित चिकित्सक र स्वास्थ्यकर्मी विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरेको जनस्वास्थ्य प्रमुख खिमबहादुर खड्काले बताए ।

उनका अनुसार स्थानीय तहअन्तर्गत विभिन्न प्रभावित क्षेत्रमा आठओटा स्वास्थ्य शिविर सन्चालन गरिएको छ । उनले भने, ‘दूषित पानीको प्रयोगले बाढीपीडितमा भाइरल ज्वरो देखिएको छ, औषधिसहितको चिकित्सक टोली परिचालन भइसकेका छन् ।’

राप्ती नदी र विभिन्न खोलामा आएको बाढीले करिब जिल्लाका नौ हजार ५०० परिवार प्रभावित भएको जनस्वास्थ्यले जनाएको छ । सो कार्यालयका अनुसार प्रभावित क्षेत्रमा झाडापखाला, ज्वरो आउने, टाउको दुख्ने, आँखा पाक्ने र छालामा खटिराको समस्या बढी देखिएको छ ।

अहिलेसम्म प्रभावित क्षेत्रका करिब ५०० भन्दा बढी बिरामीको उपचार गरिएको छ । रासस

dang viral flood victim

विशेष