खेल

थ्री स्टारलाई क्षतिपूर्ति दिने एन्फाको निर्णय

थ्री स्टारलाई क्षतिपूर्ति दिने एन्फाको निर्णय

अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्री स्टार क्लबलाई १ करोड ५० लाख रकम क्षतिपूर्तिस्वरुप दिने निर्णय गरेको छ ।

एन्फाको बुधबार बसेको बैठकले विवादका बीच सो निर्णयसँगै मंसिर १४ गते देखि ए डिभिजन लिग फुटबल प्रतियोगिता गर्ने निर्णयसमेत गरेको छ । यसअघि थ्री स्टारलाई क्षतिपूर्ति दिने कुरामा विवाद भएपछि साउन ११ मा भएको एन्फा बैठक स्थगित भएको थियो ।

एएफसी एसिया कपको दोस्रो चरणमा छनोट भएर पनि एन्फाको लापरबाहीका कारण थ्री स्टार प्रतियोगिता खेल्नबाट वञ्चित भएको थियो । एन्फाको असोज २३ गते गर्ने भनिएको साधारणसभाअघि क्लबलाई क्षतिपूर्तिस्वरूप उक्त रकम दिनेमा सहमति भएको हो ।

यसै गरी बैठकले जनवरी ७ मा निर्वाचन र अक्टोवर ९ मा विधान सभा गर्नका लागि एएफसीलाई पत्राचार गर्ने निर्णय गरेको छ । बैठकले नेपालले एएफसी यु–१६ च्याम्पियनसिप छनोटअन्तर्गत समूह ’डी’ का खेल नेपालमा आयोजना गर्ने, एएफसी एसिया कप २०१९ को छनोट खेल खेल्ने, भुटानमा हुने साफ यु–१८ च्याम्पियनसिप, किर्गिस्तानमा हुने एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा भाग लिने निर्णय गरेको छ ।

एन्फा फुटसल लिग आयोजना गर्ने, नेपालले इरानमा हुने एएफसी फुटसल च्याम्पियनसिपमा भाग लिनुका साथै काठमाडौं, नवलपरासी र मकवानपुरमा मैदान निर्माण गर्ने निर्णय गरेको छ ।

नेपालले बंगलादेशमा हुने एएफसी यु–१५ च्याम्पियनसिपमा पनि भाग लिने निर्णय गरेको छ ।

Three Star Club football

विशेष