खेल

गौरिका र जोहनाको राष्ट्रिय कीर्तिमान

गौरिका र जोहनाको राष्ट्रिय कीर्तिमान

नेपाल पौडी संघको आयोजनामा भएको राष्ट्रिय पौडी प्रतियोगितामा ओलम्पियन पौडीबाज गौरिका सिंह र जोहना लामाले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

सातदोबाटोस्थित अन्तरराष्ट्रिय पौडी पोखरीमा आजदेखि सुरु भएको उक्त प्रतियोगिताको ५० मि बटरफ्लाई स्पर्धामा गौरिकाले नयाँ कीर्तिमान बनाएकी हुन् । पचास मि बटरफ्लाइको हिट चरणमा उनले २९.०४ सेकेण्ड समय खर्चदै दूरी पार गरेकी हुन् । 

नेपाली सेनाबाट प्रतिनिनित्व गर्दै खेलेकी गौरिकाले भारतमा भएको बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा एक रजत र तीन कास्यपदक हात पारेकी थिइन् । यसअघि उक्त कीर्तिमान पौडीबाज शोफिया शाहका नाममा थियो । शोफियाले सातौंँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२.०६ सेकेण्ड समय खर्चँदै दूरी पार गरेकी थिइन् । 

त्यसैगरी एपिएफकी जोहनाले दुई सय मि ब्रेस्टस्ट्रोकमा विविधा रिमालका नाममा रहेको कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । उनले ३ मि ०७.२२ से खर्चँदै दूरी पूरा गरिन् । यसअघि श्रीलंकामा सन् २००६ मा भएको दशौँ सागमा विविधाले ३ मिनेट १२.८३ सेकेन्ड समय लगाएर दूरी पार गरेकी थिइन् । 

विभिन्न २९ स्पर्धामा खेलाइएको दुईदिने उक्त प्रतियोगितामा पाँच विकास क्षेत्रसहित आर्मी, पुलिस र एपिएफका १४४ खेलाडीको सहभागिता छ । रासस 

विशेष