स्वास्थ्य

बाजुरामा २ हजार बालबालिका कुपोषित

बाजुरामा २ हजार बालबालिका कुपोषित

बाजुरा । बाजुरामा दुई हजार बालबालिका कुपोषित भएको एक तथ्यांकले देखाएको छ ।

जिल्लाका नौ स्थानीय तहमा रहेका नगरपालिका र गाउँपालिकामा रहेका दुई हजार बालबालिका अझै कुपोषित भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत तथा सूचना अधिकारी रमेश कुँवरले बताए ।

उनले जिल्लामा कुपोषणलाई न्यूनीकरण गर्न स्वास्थ्य कार्यालयले ‘आइमाम’ कार्यक्रम सन्चालन गरेको बताए । कुपोषण भएका बालबालिकाका आमालाई पोषिलो खानेकुरा खुवाउनेलगायतका आवश्यक सुझाव सल्लाह दिने गरिएको कुँवरले जानकारी दिए ।

कुँवरका अनुसार जिल्लाका ६ ओटा स्वास्थ्य संस्थामा कुपोषित बालबालिकाको उपचार केन्द्र (ओसिटी सेन्टर) सन्चालन गर्दै आएको बताइएको छ । उपचार केन्द्र जिल्ला स्वास्थ्य कार्यालय बाजुरा, टाँटे स्वास्थ्य चौकी, डोगडी, कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र, रुगिन स्वास्थ्य चौकी र गोत्री स्वास्थ्य चौकीमा ओसिटी सेन्टर सन्चालन हुँदै आएको ‘आइमाम’ कार्यक्रम जिल्ला संयोजक डा।उदय प्रकाशले बताएका छन् ।

कुपोषित भएकामध्ये शीघ्र कुपोषण भएका ६०० जना मध्यम खालका एकहजार ४०० जना रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकले देखाएको छ । एकवर्षदेखि पाँच वर्षमुनिका बालबालिकाको पाखुराको जाँच गर्दा उक्त बालबालिका कुपोषित पाइएको हो ।

कुपोषित बालबालिकालाई उपचारार्थ खाना खुवाउने, नियमित जाँच गर्ने र कुपोषित भएका बालबालिकालाई पोषित गरेर घर फर्काउने गरेको जनस्वास्थ्य अधिकृत कुँवरको भनाइ छ ।

जिल्लामा बहुक्षेत्रीय पोषण योजना, ‘आइमाम’ कार्यक्रम, सुआहारा दोस्रोले पोषणका लागि काम गर्दै आएका छन् । कार्यक्रम सन्चालन भएपछि कुपोषणको अवस्था घट्दै गएको बहुक्षेत्रयीय पोषण योजनाका कार्यक्रम संयोजक गणेशप्रसाद जोशीले बताए । रासस

bajura Malnutrition

विशेष