खेल

यू–१५ साफ च्याम्पियनसिपः बंगलादेश ४–० ले विजयी

यू–१५ साफ च्याम्पियनसिपः बंगलादेश ४–० ले विजयी

काठमाडौ । शुक्रबारबाट एन्फा कम्प्लेक्समा सुरु भएको यू–१५ साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई ४–० ले पराजित गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशलाई सहज जित दिलाउन अहमेद फाहिमले ह्याट्रिक गरे भने नाज्मुल विश्वासले एक गोल गरे ।

बंगलादेशको लागि २८ औं मिनेटमा अहमेदले सुरुवाति गोल गरेका थिए । खेलको ३२ औं मिनेटमा अहमेदले व्यक्तिगत दोस्रो गोल गरे भने ४४ औं मिनेटमा नाज्मुलले गोल गरेपछि पहिलो हाफमै श्रीलंकामाथि ३–० को अग्रता लिएको थियो । दोस्रो हाफको खेलमा ७४ औं मिनेटमा अहमेदले पेनाल्टीबाट गोल गर्दै ह्याट्रिक पुरा गरे र टोलीलाई ४–० को सहज जित दिलाए ।

जितसँगै बंगलादेशले ३ अंक जोडेको छ र सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

च्याम्पियनसिपमा दक्षिण एसियाका ६ टोलीको सहभागिता छ । समूह ए मा बंगलादेश, श्रीलंका र भुटान रहेको छ । नेपाल सम्मलित समूह बि मा बलियो टोलीहरु भारत र माल्दिभ्स रहेको छ ।

च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग सोमबार खेल्दै छ भने दोस्रो खेलमा बुधबार भारतको सामना गर्ने छ । लिगकम नकआउटका आधारमा हुने च्याम्पियनसिपमा समूहको विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् ।

football saff championship

विशेष