पोखरामा मंगलबारदेखि तीज गीत र भलिबल प्रतियोगिता

कास्की । हरितालिका तीजका अवसरमा बागमारा युवा संगम समूह, कास्कीको आयोजनामा मङ्गलबारदेखि खुला तीज गीत एवं भलिबल प्रतियोगिता हुने भएको छ ।
यही भदौ ६, ७ र ८ गते पोखरा लेखनाथ महानगरपालिका वडा नं ३३ पानी ट्याङ्की बागमारामा प्रतियोगिता आयोजना गर्न लागिएको समूहका अध्यक्ष एवं प्रतियोगिताका संयोजक प्रमोद आचार्यले जानकारी दिए । उक्त अवसरमा घैँटो फुटाउने, डोरी तान्ने प्रतियोगिताका साथै हास्य कलाकारको प्रस्तुति लगायत मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुने छ ।
तीज प्रतियोगितामा सहभागी समूहमध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः २० हजार, १२ हजार, सात हजार र तीन हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका सहसंयोजक श्रीधर पौडेलले जानकारी दिए । त्यस्तै खुला भलिबल प्रतियोगितामा प्रथम द्वितीय र तृतीय बन्ने समूहलाई क्रमशः ४० हजार, २५ हजार र तीन हजार रुपैयाँ प्रदान गरिने छ । रासस
Teej Pokhara