नेवारी मौलिक संस्कृति गुँलाबाजा, यस्तो छ महत्व
काठमाडौँ ।
जय नमो श्रीबुद्ध भगवान् लुम्बिनी बनस विज्यात,
ब्रम्हानं बँ पुयेका सरस्वति वसा लायका,
अलंका पुरया जुजु कुवेर नं धनद्रव्य लायका विज्यात ।
यो हरेक वर्ष नेवार समुदायको महानमेला गुँला पर्वका अवसरमा एक महिनासम्म स्वयम्भू चैत्यको परिक्रमा गर्ने क्रममा काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले गुँलाबाजा बजाउँदै गाउने परम्परागत प्राचीन गीतको एउटा श्लोक हो ।
यसको नेपालीमा अर्थ हो–भगवान् बुद्धको लुम्बिनी आगमनका बेला लुम्बिनीसम्मको बाटोभरि विश्व सृष्टिकर्ता ब्रह्माले कुचो लगाउँदै, देवी सरस्वतीले वसा अर्थात् (भगवान् बुद्धको सम्मानमा एक प्रकारको पातलो रातो र सेतो कपडा कार्पेट बिच्छ्याउँदै) तथा अलंकापुरका राजा कुवेरले त्यो बाटोभरि पैसा, धन बर्साइँदै स्वागत गरेको भन्ने बुझिन्छ ।
नेपाल संवत्को १० औँ महिनामा पर्ने गुँला पर्वका अवसरमा काठमाडौँका बौद्ध धर्मावलम्बी गुँला पर्वको एक महिना काठमाडौँको स्वयम्भू चैत्यको परिक्रमा गर्ने परम्परा रहेको छ ।
विश्व शान्तिको प्रतीक स्वयम्भू चैत्यको दर्शन गर्दा उनीहरुले बुद्ध भगवान्को पवित्र ग्रन्थ पाठ गर्ने प्रचलन छ र परम्परागत गुँला बाजा बजाउने गर्दछन् । सेभ नेपाली हेरिट्ेजका प्रमुख आलोक तुलाधरका अनुसार महिनाभरि बजाउनुपर्ने भएकाले गुँला पर्व आउनुअघि नै गुँलाबाजाको प्रशिक्षण युवालाई दिइने र काठमाडौँका मानन्धर, डंगोल, ताम्राकार आदि जातजाति स्वयम्भू चैत्यको परिक्रमा गर्ने गर्दछन् ।
गुँला बाजाको इतिहास लगभग २५०० वर्ष पुरानो परम्परा हो । यो बाजा नेवार समुदायको लोक संस्कृति हो । बुद्धधर्मसँग आबद्ध छ, तर यो पारस्परिक मात्र नभएर धर्मसँग पनि जोडिएको हँुदा, गुँला बाजा बजाउने विधि तथा प्रक्रिया अन्य बाजाभन्दा निक्कै फरक हुन्छ ।