समाज

सांसदले भने हामी त निरीह छौं, अरुको के होला ?

सांसदले भने हामी त निरीह छौं, अरुको के होला ?

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको पार्किङमा आइपुगेका सांसद रामअयोधी यादवलाई ट्याक्सीचालकले सोध्यो, ‘कहाँ से आया ‘ उनले पनि चालकको मनोविज्ञान बुझेर भनिदिए, ‘बिहार से आया हुँ, मिलन चोक जाना है ।’ धोतीकुर्तामा ठाँटिएका उनले चालकलाई ट्याक्सीको मिटर चलाउन भने तर उसले जाम हुनेलगायत समस्या देखाएर चलाएन । उनी चुपचाप बसे । 

चालकले विमानस्थलबाट दरबारमार्ग, माइतीघर मण्डला हुँदै बानेश्वरभित्रको मिलन चोक पुर्‍यायो । सांसद यादवले भाडा कति भयो भनेर हिन्दीमै सोधे । चालकले नौ सय माग्यो । ‘ए भाइ, म बिहारी होइन । नेपाली सांसद हुँ, ट्राफिकको डीआईजी सर्वेन्द्र खनाललाई फोन गरेर भन्छु अनि तिर्नुपरेको सबै तिरौंला’, उनले नेपालीमा भने । चालक अबचाहिँ डरायो र भन्यो, ‘होइन हजुर, त्यसो नगरौं । ३ सय दिए पुग्छ ।’

सांसद यादवले यस्तो व्यथा संसद्को विकास समिति बैठकमा सोमबार सुनाएका हुन् । ‘ट्याक्सी सेवामा गुणस्तरीयता, प्रभावकारिता एवं उपभोक्ता ठगी नियन्त्रणका लागि भएका प्रयास’ शीर्षकको बैठकमा सांसदहरूले राजधानीमा ट्याक्सी चढ्दाका तीता अनुभव पोखे ।

सांसद तुलसा राना मगरले हालै अनामनगर, हनुमानस्थानबाट अन्य ३ सांसदसहित शान्तिनगर जान खोज्दा ट्याक्सी चालक मानेनन् । नियमतः यात्रुले भनिसकेपछि चालकले उपत्यकाभित्र बाटो पुग्ने जुनसुकै ठाउँ जानैपर्छ । पहिलोले नमानेपछि मगर दोस्रो ट्याक्सीतिर गइन् । तर दोस्रो चालकले पनि मानेन ।

उनले क्षुब्ध हुँदै ‘ट्राफिक कन्ट्रोललाई फोन गरिदिऊँ  ‘ भनिन् । चालक किन पो गल्थ्यो र उसले आफ्नै मोबाइल तेस्र्याउँदै जवाफ दियो, ‘हुन्छ, ल मेरैबाट गर्नोस् न ”हामी हतारमा थियौं । केही गर्न सकेनौं । हामीजस्ताले त निरीह बन्नुपर्छ भने सर्वसाधारणको हविगत के होला  ‘ सांसद मगर भन्दै थिइन् ।

यस्तै, रोचक कथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनकुमार शाहीले सुनाए । एयरपोर्टमा ट्याक्सीको अवस्था बुझ्न पर्यटक बनेर गरेको अनुगमनको अनुभव उनीसँग रहेछ । ‘मैले त्यहाँको अवस्था हेरिसकेपछि नीतिगत सुधारलगायत विषयमा निर्देशन दिएँ  । त्यति गर्दा ट्याक्सी चालकमध्येको एउटा बुजु्रकले भनेको सुनें, यो मन्त्री कुन पार्टीको हो  यसको सरुवा गर्दिनुपर्‍यो । अब बुझ्नुहोस् उनीहरूको दबदबा कति छ भनेर ।’

ट्याक्सीचालकले कस्ता ग्राहक खोज्छन् भन्ने उदाहरण सांसद डा. शिवजी यादवले पेस गरे । उनले भने, ‘चोकमा ३ ४ वटा ट्याक्सी क्यूमा हुन्छन् । सिंहदरबार जाऊँ भन्दा कुनै मान्दैनन् । त्यहाँ जाँदा बढी पैसा लिन पाइँदैन भन्ने उनीहरूलाई थाहा छ ।’ सांसद वैजनाथ चौधरीले कटाक्ष गरे, ‘नीति बनाउनेहरूबाटै भ्रष्टाचार हुन्छ, तलकालाई कारबाही गरेर के हुन्छ  ‘

विकास समितिका सभापति रवीन्द्र अधिकारीले ट्याक्सीबाट ग्राहक ठगिने विषयलाई सिन्डिकेटसँग जोडे । ‘रुटवाला ट्याक्सी किन्दा प्रचलित सवारी मूल्यभन्दा ५० प्रतिशत बढी तिर्नुपर्ने अवस्था छ । यो सिन्डिकेट हो । यस्तो अतिरिक्त खर्चको भार अन्ततः यात्रुमाथि नै पर्ने हो,’ उनले भने। अधिकारीले मन्त्रीबाटै स्वार्थ राखेर काम हुँदा असर तलसम्म पर्ने उल्लेख गरे । दैनिक जनजीवनका समस्या संसद्मै उठाए पनि यातायात क्षेत्रमा सुधार नआएको उनको भनाइ छ ।

बैठकमा उपभोक्ता मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले यातायात देशको रक्तसञ्चार भए पनि क्यान्सर लागिसकेको बताए । ‘कुनै पनि देश कसरी चलेको छ भनेर हेर्ने प्रमुख सूचक सार्वजनिक यातायात हो’, उनले भने, ‘दक्षिण एसियामा नेपालका ट्याक्सीले लिने भाडा यसै पनि सबैभन्दा महँगो छ । त्यसमाथि मान्छे हेरेर लुट्ने प्रवृत्ति छ ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी सर्वेन्द्र खनालले चुस्त र सहज सेवा दिने हो भने ट्याक्सीचालकमाथि कारबाही गर भनी ट्राफिक प्रहरीलाई अह्राएर मात्र नपुग्ने बताए । ‘म मेरो क्षेत्रको सम्पूर्ण जिम्मा लिन्छु । यस्तै प्रतिबद्धता नापतौल तथा गुणस्तर विभाग र यातायात व्यवस्था विभागबाट पनि आउने हो भने १५ दिनभित्रै यो क्षेत्र सुध्रिएको महसुस गर्न सकिन्छ,’ उनले भने ।

विशेष