मनोरञ्जन

‘महिलाले दर खाएर होइन, पुरुषहरु तिज गीतमा नाच्न थालेर विकृती आयो’ — ज्योती मगर

कलाकारकाे तिज

‘महिलाले दर खाएर होइन, पुरुषहरु तिज गीतमा नाच्न थालेर विकृती आयो’ — ज्योती मगर

काठमाडौं । महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिदै जाँदा सबै महिलाको आ आफ्नै तिज योजना छन् । त्यसमाथि पनि सबैको नजर परेका कलाकारका योजना के कस्ता छन् त ? नेपाल आजसँगको कुराकानीमा कलाकारको तिजबारे भएको कुराकानी यस्तो छ ।

यो वर्षको तिज नेपालमै मनाउँछु । पछिल्लो सात वर्षदेखि विदेशमै तिज मनाउँदै आएकी थिएँ । भोली तिजको दिन चितवनको रत्ननगरमा कार्यक्रम छ । त्यसैले त्यतै मनाइन्छ । पानी नखाई निरिह व्रत लिन्न । फलफुल र पानी खाएरै व्रत बस्छु । अहिले महिलाहरुले एकमहिनाअघि देखि दर खाएर विकृति ल्याएको भन्ने गर्छन् । तर, म यसलाई मान्दिन किनभने यो केवल आफ्ना दिदीबहिनीहरुसँग भेटघाट गर्ने वहाना हो । यसलाई विकृती नभएर उत्सवको रुपमा लिइनुपर्छ ।
कोमल वोली, गायिका


अहिले फिल्म ‘वीरंगना’ को सुटिङमा व्यस्त छु । त्यसैले यो वर्ष सुटिङमै तिज मनााइन्छ होला । सुटिङमा नै भएपनि व्रत लिन्छु । तर, पानी, फलफुल खाएर नै व्रत लिने गर्छु ।

शिल्पा पोख्रेल, नायिका

यसवर्षको तीज काठमाडौंमै मनाउछु । अरु बेलामा अरुलाई नचाइन्थ्यो यो वर्ष मन्दिर गएर आफैँ नाचिन्छ । म तिजमाा व्रत चाहीँ बस्दिन । पहिला पहिला बस्थे अहिले छोडिसकेकी छु । व्रत बस्दा कार्यक्रम गर्न गाह्रो हुने र कहिले महिनावारी भएको समयमा पर्ने हुनाले व्रत बस्न छोडें । महिलाहरुले एक महिनाअघिदेखि दर कार्यक्रम गरेर विकृती आयो जस्तो लाग्दैन । विकृती त पुरुषहरु आफैैँ महिलाको तिज गीतमा नाच्न थालेर आएको छ ।

ज्योती मगर, गायिका


भगवनमा आस्था छ तर व्रत बस्दिन । पहिलादेखि बानी नभएर पनि व्रत बस्ने गरेकी छैन । तिजको दिन माछामासु खादिन । शुद्ध खानेकुरा खाएर इष्टमित्रले बोलाएको ठाउँमा जान्छु र नाचगान गर्छु । महिलाहरुले दर खाने र जमघट गर्ने प्रवृत्ति बढ्दो छ । तर, सबैले आफ्नो हैसियत हेरेर त्यस्तो जमघटको आयोजना गर्नुपर्छ जस्तो लाग्छ । यो भन्दा वाहेक त यसरी जमघट गर्नु राम्रो हो जस्तो लाग्छ ।

करिश्मा मनन्धर, अभिनेत्री तथा नेतृ

विशेष