समाज

दुध बेच्न हिडेका युवालाई यसरी निर्घाट पिटे हवल्दारले

दुध बेच्न हिडेका युवालाई यसरी निर्घाट पिटे हवल्दारले

बर्दिया ।   ईलाका प्रहरी कार्यालय गुलरिया १० नम्बर चौकीका प्रहरी हवल्दारले स्थनीय एक युवकलाई निर्घात कुटपिट गरेका छन् ।

गुलरिया नगरपालिका १ सघाहापुर निवासी २७ वर्षीय दिनेश यादवलाई प्रहरी हवल्दार टेकबहादुर चन्दले निर्घात कुटपिट गरेका हुन् ।  शम्भुशरण माध्यमिक विद्यालय खैरापुरका शिक्षक विश्वम्भर यादवका अनुसार युवक बिहान भारतीय सीमावर्ती क्षेत्रमा रहेको भारतीय प्रहरी सीमा सुरक्षावल क्याम्पमा दूध बेच्न जाने क्रममा मोटरसाइकलबाट ओराली असई भूमी चन्दले दुई झापड लगाएपछि हवल्दार टेकबहादुर चन्दले चौकी भित्र लगी पर्खालमा टाउको ठोक्काई ठोक्काई कुटपिट गरेका थिए ।

हवल्दार चन्दले बाइक कुदाउदा हेल्मेट नलगाएको भन्दै कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।  दिनेशका छिमेकी समेत रहेका शिक्षक विश्वम्भरले थपे ‘हेलमेट नलगाएको भन्दै प्रहरीले पिटेका हुन् यदि कानून उल्लंघन गरेको भए कानूनी कारवाही गर्नुपथ्र्यो ।’ कुटपिटपछि चौकी वाहिर ल्याएर छाडीदिएको उनले बताए । सुरक्षाकर्मीको रवैयाले असुरक्षित भएकोमा उनले चिन्ता व्यक्त गरे ।

घाइते यादवलाई थप उपचारका लागि जिल्ला अस्पताल बर्दियाले नेपालगञ्ज सिफारिस गरेको छ । ‘चेकचाँज पश्चात छाडिदिनु पर्ने हो त्यसरी कुटपिट गर्न नहुने हो’, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर वोहोराले भने, ‘घटनाका बारेमा हामीले अनुसन्धान गर्दैछौ ।’ उनले थपे, ‘यदि घटना वास्तविक पुष्टि भए कारबाही गर्छौ ।’

 अन्नपूर्ण

विशेष