राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपिएफ टोली प्रथम
पोखरा । पोखरा–लेखनाथ महानगरपालिका– १९ लामाचौरमा सञ्चालित रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलका एपिएफ टोली प्रथम भएको छ ।
नव आदर्श सामुदायिक विकास समाजको २१औँ वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा आयोजित प्रतियोगिताको आज भएको अन्तिम खेलमा सशस्त्र प्रहरी बलको एपिएफले न्यू डायमण्ड एकेडेमीलाई २५–१८, २५–१८ र २५–१२ (३–०) ले पराजित गरेको थियो ।
प्रथम भएसँगै एपिएफले नगद रु ७५ हजार १०१ सँगै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै द्वितीय भएको न्यू डायमण्ड एकेडेमीले नगद रु ५० हजार १०१ तथा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै नेपाल पुलिस क्लब र पश्चिमाञ्चल भलिबल सङ्घलाई २५–१८, २५–१९, २२–२५ र २५–२२ (३–१) ले पराजित गरी तेस्रो भएको छ भने पश्चिमाञ्चल भलिबल सङ्घ चौथो भएको छ । प्रतियोगितामा तेस्रो हुने टोलीले रु. २० हजार तथा चौथो हुने टोलीले रु १५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशव विष्टले विजयी टोलीलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । गत मंगलबारदेखि शुरु भएको सो प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको छ ।
१३ औँ साग : पाँच खेलका लागि पोखरा छनोट : सचिव दाहाल
यसैगरी हरितालिका तीजको अवसरमा हिमालय क्लब बाटुलेचौरद्वारा आयोजित छात्रतर्फको ह्याण्डबल उपाधि सोसियल पब्लिक र छात्रातर्फ पोखरा एकेडेमीले जितेका छन् ।
आज सम्पन्न छात्रतर्फको अन्तिम खेलमा सोसियल पब्लिकले सरस्वती आदर्श विद्याश्रमलाई १७–१४ को गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो भने छात्रातर्फ पोखरा एकेडेमीले लिटिल स्टेपलाई ४–३ लाई हराउँदै उपाधि जितेको हो ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीले क्रमशः रु १५ हजार र १० हजार प्राप्त गरेका छन् ।
प्रतियोगितामा विजयी टोलीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले पोखरालाई खेलकुद शहरका रुपमा विकास गर्न मन्त्रालयले काम थालेको बताए ।
सचिव दाहालले १३औँ सागमा पोखरामा पाँच खेलका लागि छनोट भइसकेको हुनाले सोअनुरुपका पूर्वाधार विकासमा समेत मन्त्रालयले ध्यान दिएको जानकारी दिनुभयो । गत भदौ ५ गतेदेखि शुरु भएको सो प्रतियोगिताअन्तर्गत छात्रतर्फ १६ र छात्रातर्फ १५ टोलीको सहभागिता रहेको थियो ।