समाज

रहेनन् दलित आन्दोलनका अभियन्ता

रहेनन् दलित आन्दोलनका अभियन्ता

साउन १८ । दलित तथा भूमि आन्दोलनका अगुवा सप्तरीका बलदेश रामको मंगलबार निधन भएको छ ।

२०५६ सालमा सप्तरी र सिरहामा भएको चमार जातिको सिनो बहिष्कार आन्दोलनका अगुवा बलदेबको ६७ वर्षको उमेरमा सप्तरीको मधुपटीस्थित घरमा निधन भएको हो ।

केही दिन अघि हृदयघातबाट पीडित भएका बलदेबको निधनले दलित र भूमिहिन आन्दोलनलाई अपुरणीय क्षति भएको अधिकारकर्मीहरुले बताएका छन् ।

२०५६ सालमा सिनो (मरेको पशु) फाल्ने परम्परागत पेशालाई बलदेबकै नेतृत्वमा बहिष्कार गरेपछि तराई मधेशका दलित समुदाय चमार जातिको जिवनशैली पछिल्ला वर्षहरूमा फेरिदै गएको छ । रामले दलितको आत्मसम्मान ,शिक्षा तर्फ आकर्षण र रोजगारी लगायतका विषयको ग्यारेन्टीका लागि सप्तरी र सिरहा सहितका जिल्लामा सक्रिय रहदै आएका थिए । राष्ट्रिय भूमि अधिकार मञ्च र हरुवाचरुवा अधिकार मञ्चका संस्थापक अध्यक्ष समेत रहेका बलदेब सुकुम्बासी समस्या समाधान आयोगमा सदस्य समेत भएका थिए ।

भारतको प्रसिद्ध डा भिमराव अम्बेडकर अन्र्तराष्ट्रिय पुरस्कारबाट समेत सम्मानित बलदेब एकदर्जन भन्दा बढी राष्ट्रिय पुरस्कार र सम्मानबाट सम्मानित थिए । युवा अवस्थादेखि नै दलित मुक्तिका लागि लागेर २०५६ को ज्याला बृद्धिको आन्दोलन, निस्शुल्क शिक्षाका लागि आवाज उठाउने काम, २०५८ को सिनो बहिस्कार आन्दोलनको अगुवाई, २०६० देखि हरुवाचरुवाको अधिकार, हलिया मुक्ति, भुमिहिनका लागि व्यवस्थित बसोबासको व्यवस्था हेतु अनवरत आवाज उठाउँदै आएका बलदेब दलित युवाहरुका लागि समेत प्रेरणाका स्रोत बनेका छन् । उनका श्रीमती, २ छोरा र २ छोरी छन् ।

विशेष