मनोरञ्जन भिडियो

फाइनलसम्म पुग्छु भन्ने लागेको थियो, बीचैमा फालिँदा विश्वास नै लागिरहेको छैन : सुरज थापा (भिडियाे अन्तर्वार्ता)

फाइनलसम्म पुग्छु भन्ने लागेको थियो, बीचैमा फालिँदा विश्वास नै लागिरहेको छैन : सुरज थापा (भिडियाे अन्तर्वार्ता)

सुरज थापा, नेपाल आइडल प्रतिस्पर्धी

काठमाडौं । धेरैको अपेक्षा थियो, नेपाल आइडलको उपाधी सुरज थापाको पोल्टामा पर्नेछ । ‘टप टेन’ मा परेपछि त धेरैले उनैलाई नेपाल आइडलको रुपमा हेरे । तर दुर्भाग्य, अप्रत्यासित रुपमा उनी टप सिक्सबाटै बाहिरिए । जब उनी टप सिक्सबाट बाहिरिएको घोषणा भयो, सबैले यसलाई अप्रत्यासित नतिजा भने । सामाजिक सञ्जालमा धेरैले नेपाल आइडलको कार्यक्रम विश्वसनीयतामाथि नै प्रश्न उठाए । कतिपयले त धाँधली भएको भन्नसमेत भ्याए । उनी टप सिक्सबाट बाहिरिएको घोषणापछि कतिपय दर्शकले त आँशु थाम्न पनि सकेनन् । सबैको आँखा रसायो । उनी बाहिरिए, सबैलाई रुवाएर बाहिरिए । साँच्च नै, उनको स्वरले सबैलाई लठठ् बनाएको थियो । कतिपय त उनको स्वर सुन्नका लागि, उनको भद्र र सालिन व्यवहार हेर्नका लागि मात्रै भएपनि टेलिभिजन खोल्थे । तर, नेपाल आइडलको जारी प्रतिस्पर्धाबाट उनी बाहिरिइसकेका छन् ।

उनी प्रतिस्पर्धाबाट बाहिरिए पनि दर्शक, समर्थकको अपार माया लिएर बाहिरिएका छन् । अमिट छाप छाडेर उनी हामी माझ आएका छन् । उनले दर्शक र समर्थकको कति माया पाएका रहेछन् भन्ने ज्वलन्त उदाहरण यो हो कि, उनीपछि टप फाइभबाट सुजाता पाण्डे बाहिरिइन् । उनी बाहिरिए पनि केही चर्चा भएन । सामाजिक सञ्जालमा विरोध र समर्थनको केही आवाज सुनिएन । फेसबुकका वालहरुमा उनको बारेमा केही चर्चा भएन । तर, सुरज भने अपवाद नै देखिए ।

सुरजले पनि टप सिक्सबाटै बाहिरिनु पर्ला भन्ने सोचेका रहेनछन् । फाइनलसम्म पुग्छु नै भन्ने विश्वास उनले लिएका रहेछन् । दर्शक र समर्थकको अपार माया अनि विश्वास, जजहरुले आफ्नो प्रस्तुतिलाई गरेको टिप्पणीबाट पनि उनले फाइनलसम्म पुग्छु भन्ने विश्वास लिएका रहेछन् ।

‘फाइनलसम्म पुग्छु भन्ने लागेको थियो, तर सोचेको जस्तो हुन्न रहेछ, जुन खालको रिजल्ट आयो, मैले पनि यसलाई सुरुमा विश्वास गर्न सकिन,’ सुरजले नेपाल आजसँगको भिडियो कुराकानीमा भने, ‘तर विश्वास गर्नैपर्छ । मलाई यहाँसम्म ल्याइदिनु भएकोमा सबैलाई धन्यवाद ।’

सुरज बाहिरिएपछि नेपाल आइडल कार्यक्रमको विश्वसनियतामाथि सबैले शंका गरेका छन् । कतिपयले त सुरजलाई टप सिक्सबाट फालिन्छ भन्नसमेत भ्याएका थिए । टप सेभेनमा यो, टप फाइभमा यो व्यक्ति फालिँदै छ भन्ने पनि सुनिएको थियो । उनीहरुले यस्तो अनुमान गर्नुको प्रमुख कारण आयोजकको निष्पक्षतामाथिको प्रश्न र उनीहरुले पाएको भोट सार्वजनिक नगरिनु ।

सुरज भन्छन्, ‘कति भोट आयो हामीलाई पनि भनिँदैन । हामीले पनि विश्वास गर्ने मात्रै हो । हामीलाई भोट सार्वजनिक नगर्नुको कारण अन्तर्राष्ट्रिय प्रचलन भनिएको छ, त्यही पाठ हामीलाई सिकाइएको छ । होला त नि ।’

नेपाल आइडलबाट बाहिरिए पनि सुुरज आँत्तिएका छैनन् । गीत संगीतकै क्षेत्रमा केही गर्छु भन्ने झन बढी विश्वास पलाएको छ उनमा । ‘जे हुन्छ राम्रैका लागि हुन्छ, एउटा ढोका बन्द भए अर्काे ढोका खुल्छ, म नेपाल आजबाट बाहिरिए पनि सांगीतिक दुनियाँबाट बाहिरिएको छैन । कुनै पनि माध्यमबाट म तपाईंहरुमाझ आइरहने छु ।’

नेपाल आइडलमा सहभागी भएपछि उनको सांगीतिक उचाई ह्वात्तै बढेको छ । समर्थक पनि बढिरहेका छन् । विशेषगरी लेडिज समर्थकहरु धेरै बढेका छन् । कतिपयले त उनलाई ‘प्रपोज’ गर्न पनि भ्याइसके । तर उनले कसैको प्रपोज स्वीकारेका छैनन् । ‘म सबैलाई माया गर्छु, मैले गीत संगीतमा अझै धेरै गर्न बाँकी छ, कसैसँग सम्बन्ध बढाउने बेला भएको छैन,’ उनी भन्छन् ।

Nepal Idol

विशेष