समाज

न्यूनचापीय क्षेत्रको प्रभावले बदली र वर्षा

न्यूनचापीय क्षेत्रको प्रभावले बदली र वर्षा

काठमाडौं । भारतको उडिसा राज्य र बंगालको खाडी आसपासमा न्यूनचापीय क्षेत्रको प्रभावका कारण नेपालमा बदली र वर्षा भएको छ ।

उक्त प्रणालीको प्रभावले देशभर बदली र केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामान्य अवस्थामा रहेको मनसुनसँगै न्यूनचापीय क्षेत्रको प्रभावले खासगरी पूर्वी भेगमा बढी असर परेको मौसमविद् सुवास रिमालले जानकारी दिए ।

‘पूर्वका केही स्थानमा मध्यमखालको वर्षा हुनेछ, मध्य भेगमा बदली रहेपनि हल्काफुल्का वर्षा गराउने देखिन्छ, मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा सामान्यखालको वर्षा हुन्छ’–उनले भने । मनसुन अहिलेपनि सामान्य अवस्थामा रहेको र यसले बदली र वर्षा गराउँछ । तर, भारी वर्षा हुने सम्भावना छैन । सामान्य खालको बदली र वर्षा अझै केही दिन जारी रहने महाशाखाको भनाइ छ ।

मौसम बदलीका कारण एकरदुई स्थानमा मध्यम वर्षा भएपनि भारी वर्षा हुने सम्भावना नरहेकाले आत्तिने अवस्था नरहेको मौसमविद् रिमालले बताए । अहिले देशभर बदली छ भने केही स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी दाङमा ७२ र वीराटनगरमा ३ मिलिमिटर वर्षा भएको छ ।

काठमाडौंमा सात मिलिमिटर, पोखरामा २२, भैरहवामा २१ धनगढीमा १८ र ओखलढुंगामा १२ मिलिमिटर वर्षा भएको छ । बदली र वर्षाले काठमाडौंको अधिकतम् तापक्रम पनि केही घटेकाले तातिएको मौसम पनि सोमबारबाट केही चिसो महसुस भएको छ ।

सोमबार काठमाडौंको अधिकतम् २९ र न्यूनतम् तापक्रम २० डिग्रिसेल्सियस रहेको छ ।

rain weather change

विशेष