क्वेटा जेलबाट चन्दको गुहार : ‘जसरी हुन्छ स्वदेश फर्कन चाहन्छु’
नयाँदिल्ली : करिब तीन दशकअघि सुदूरपश्चिमको एउटा गाउँबाट बेपत्ता भई अघिल्लो वर्ष पाकिस्तानको बलुचिस्तान प्रान्तमा भेटिएका एक नेपालीलाई घर फर्काउन उच्च तहमा कूटनीतिक पहल सुरु भएको छ । आफूलाई बैतडी, हटैराज–२ को नरेन्द्रबहादुर चन्द भनी चिनाउँदै फेसबुकमार्फत ‘घर फर्कन चाहेको’ सार्वजनिक गरेपछि उनी सुरक्षा निगरानी परेका थिए । चन्दलाई क्वेटास्थित कारागारमा राखिएको जानकारी पाकिस्तानी अधिकारीले इस्लामावादको नेपाली दूतावासलाई दिएका थिए ।
अफगानमूलकी शरणार्थी युवतीसँग बिहे गरी दुई छोराछोरी जन्माएका नरेन्द्रले परिवारको सामाजिक सुरक्षामा खलल पुर्याएको भन्दै स्थानीय सुरक्षा निकायले थुनामा राखेको जवाफ तत्काल दिएको थियो । ‘मैले क्वेटामा स्थानीय प्रशासनको सहयोगमा चन्दलाई भेटेर उनको इच्छा र अवस्थाबारे बुझ्ने मौका पाएकी छु,’ इस्लामावादस्थित राजदूत सेवा लम्साल अधिकारीले कान्तिपुरसँग फोनमा भनिन्, ‘चन्द जसरी भए पनि सपरिवार घर फर्कन चाहन्छन्, यसबारे कूटनीतिक र कानुनी तहको परामर्श सुरु भएको छ ।’ तर, सामाजिक सुरक्षा प्रतिकूलतालगायत कारण थुनामा राखिएका चन्दलाई घरफिर्ती ९डिपोर्टेसन० प्रक्रियाबाट मात्रै नेपाल पठाउन सकिने भएकाले कूटनीतिक कठिनाइ उब्जिएको छ । डिपोर्टेसन नगरिएको अवस्थामा उनले क्वेटामा आजीवन कारावासको सजाय बेहोर्नुपर्ने छ । अझ ठूलो समस्या त उनले विवाह गरेकी श्रीमती अझैसम्म अनागरिक स्थितिमा छिन् भने हुर्केका छोराछोरीको जन्मदर्तासमेत भएको छैन ।
राजदूत अधिकारीले चन्दलाई भेटाउन आग्रह गरेपछि गत महिना स्थानीय प्रशासनले क्वेटा कारागारबाट निकालेर स्थानीय एक होटलमा भेटवार्ता गराइदिएको थियो । राजदूत अधिकारीलाई चन्दले नेपाल फर्कन र आफन्तको साथमा जीवन बिताउन आफू अत्यन्त इच्छुक रहेको र साथमा छोराछोरी र श्रीमतीलाई समेत लिएर जान चाहेको बताएका थिए । उनकी श्रीमती र छोराछोरी स्थानीय पास्तुन भाषा मात्रै बोल्न सक्छन् । घर फर्कन चाहने यी नेपालीका लागि आवश्यक परे हवाई टिकट र अन्य खर्च दिन केही नेपाली दाता तयार भइसकेका छन् । ‘तर घरफिर्ती प्रक्रिया निकै जटिल देखिएको छ,’ राजदूत अधिकारीले भनिन् ।
चन्द परिवारमा ६ भाइमध्येका कान्छा हुन् । हाल भैरहवाको एक निजी बैंकमा सुरक्षा गार्ड रहेका उनका माइला दाजु रणबहादुर चन्दले ‘वर्षौं वर्ष हराइरहेका भाइलाई घर फिर्ता गराउन आफूले जिल्लादेखि केन्द्र तहसम्म हारगुहार गरिसकेको बताए । ‘भाषा बुझ्नेरनबुझ्ने जे भए पनि भाइले ल्याएकी केटी हाम्रै कुलकी बुहारी हो, भतिजाभतिजी मेरै भाइका रगत हुन् । सबैलाई एकैसाथ घर फिर्ता ल्याइयोस् भनेर सरकारलाई अनुरोध गर्न चाहन्छु,’ रणबहादुरले फोनमा भने ।
कसरी पुगे पाकिस्तान
स्थानीय विद्यालयमा ६ कक्षाको परीक्षामा फेल भएपछि भागेर नजिकैको भारतीय बजार झुलाघाट गएका चन्दले जीवनमा फेरि घर फर्कन नसकिएला अथवा नपाइएला भन्ने सोचेकै थिएनन् । झुलाघाटको एउटा होटलमा भाँडा माझिरहेका बेला भेटिएका एक अपरिचितले ‘नयाँ ठाउँमा दामी काम दिलाउने’ आश्वासन दिलाएपछि चन्द उनकै पछि लागेका थिए । भारत–पाकिस्तान व्यापार गर्ने ती व्यक्तिले बागा बोर्डर हुँदै लाहोरसम्म जाने प्रबन्ध मिलाएको र त्यहाँबाट कराँची लगेर होटलमा काम गर्न अह्राएपछि मात्रै चन्दले आफू परिबन्दमा परेको थाहा पाएका थिए ।
त्यतिबेला उमेरमा भर्खर १४ लागेका चन्दले लगातार १५ वर्ष कराँचीको होटलमा काम गरेका थिए । त्यसपछिका ८ वर्ष बलुचिस्तानको क्वेटास्थित अर्को होटलमा काम गरेको गत वर्ष थुनामा पर्नुअघि उनले कान्तिपुरलाई फोनमा बताएका थिए । चन्दले आफूलाई बैतडीस्थित घरको खुबै सम्झना भइरहेको र बीचमा दुई पटक हुलाकबाट पत्र पठाए पनि जवाफ नपाएको बताएका थिए ।
आफ्नो परिवारका दुई दाजु गजबहादुर र रणबहादुर त्यतिबेलै नेपाली सेनाका जागिरे रहेकाले पनि आफ्नो खोजबिन हुन सक्ने आशा नरेन्द्रले व्यक्त गरेका थिए । वर्षौंसम्म आफन्तको कुनै पत्तो नलाग्दा र त्यत्तिका वर्ष कोही नेपालीसँग भेटसमेत हुन नसक्दा जीवन यत्तिकै बित्ने उनले ठानेका थिए । एक न एक दिन घर फर्कने सोचाइ बनाए पनि सबैतिरबाट हार खाएपछि नरेन्द्रले इस्लाम धर्म कबुल गर्दै चमन क्षेत्रमै बस्ने अफगानी शरणार्थी परिवारकी केटीसँग छोरी बिहे गरेका थिए । ‘फरक धर्म र जिन्दगी कबुल गरेपछि म महम्मद अयुब खान बनेको छु, मेरो छोरो इरफान १२ वर्ष र छोरी सवानिसा १० वर्षकी छे,’ चन्दले कान्तिपुरलाई भनेका थिए । अहिले उनकी श्रीमती मरियाम र दुई छोराछोरी चमन गाउँमै शरणार्थी हैसियतमा बसिरहेका छन् ।
सामान्य मजदुरी गरेर रोजीरोटी कमाइरहेका ‘अनागरिक’ चन्दले आफू युद्धरत भूमिमा आइपुगेको र आफू शरणार्थीसरह भएकै कारण कुनै पनि बेला कडा कानुनी कारबाहीमा पर्न सक्ने पत्तो पाएपछि फेसबुकमार्फत घरफिर्तीको गुहार मागेका थिए ।
बलुचिस्तानको चमन जिल्ला अफगानिस्तानसँग जोडिएको युद्धग्रस्त क्षेत्रमा रहँदा चन्द दिनहुँ जीवन–मृत्युको दोसाँधमा परिरहन्थे । चमन क्षेत्रमा रहेका अफगानी शरणार्थीलाई बाहिर धपाउने र पहिचान नरहेकालाई जेल हाल्ने काम भइरहेका बेला उनी स्थानीय क्वेटास्थित बोलान मेडिकल कलेजमा पढ्ने एक नेपाली विद्यार्थीको सम्पर्कमा आएका थिए ।
‘सुरुमा त चन्दको कुरा सुनेर अचम्मै लाग्यो । पछि घरपरिवार बुझदै जाँदा कुरा सत्य रहेछ भन्ने ठहर भयो,’ बोलानमा एमबीबीएस अन्तिम वर्षका विद्यार्थी राजेन्द्र फुलाराले फोनमा भने, ‘हामीले फेसबुकमा चन्दको ३० वर्ष पुरानो फोटो देखेर त्यसको यथार्थ पहिल्याउन खोजी थालेका थियौं, त्यहाँबाट उनको गाउँघर सम्पर्कमा जोडिएको हो ।’ डोटी घर भएका राजेन्द्रसहित गोर्खाका गजेन्द्र आचार्य र अरू विद्यार्थीले चन्दलाई नागरिक हैसियत दिन तथा बैतडी घर फिर्ता गराउन इस्लामावादस्थित नेपाली दूतावासलाई आग्रह गर्दै आएका छन् ।
४४ वर्षीय चन्दले जेजसरी हुन्छ, आफ्नो मातृभूमि फर्कन चाहेका छन् । ‘म मेरो परिवारै लिएर फर्कन चाहन्छु,’ उर्दू मिसिएको बोलीमा चन्दले फोनमा भनेका थिए, ‘यी छोराछोरी र श्रीमतीलाई म कसरी यत्तिकै छाड्न सक्छु रु’ आफूलाई यो बिरानो भूमिमा ल्याइपुर्याउने मालिक ९अलदा खान० को ७ वर्षअघि निधन भएकाले हारगुहार गर्ने ठाउँसमेत नपाएको उनको दुस्खेसो थियो ।
बैतडीस्थित घर र आफन्तजनमा पनि ३० वर्षदेखि बेपत्ता चन्दबारे खबर पुगिसकेको छ । चन्द यो दुनियाँमा अझै जीवितै रहेको खबर पाएर आफन्तजन आश्चर्यचकित छन् । परिवारमा दाजुभाइ भए पनि चन्दका बाबुआमाको भने निधन भइसकेको छ ।
पाकिस्तानको चमन जिल्ला अफगानिस्तानको कान्दाहार प्रान्तसँग जोडिएको युद्धग्रस्त क्षेत्र हो । बलुचिस्तान प्रान्तमा मात्रै ७० हजारभन्दा बढी अफगानी शरणार्थी छन् । हाल पाकिस्तानी सरकारले शरणार्थी पहिचान तथा घरफिर्तीको अभियानसमेत चलाइरहेको छ ।
कान्तिपुर