खोटाङमा भाइरल ज्वरोको बिमारीको चाप
खोटाङ । जिल्ला अस्पताल खोटाङमा भाइरल ज्वरोको बिमारीको चाप बढेको छ ।
मौसम परिवर्तन भएसँगै जिल्ला अस्पतालमा शरीर दुख्ने, अधिक ज्वरो आउने, टाउको दुख्नेलगायतका लक्षण देखिने भाइरल ज्वरोको बिरामीको चाप बढेको हो ।
चिसो सुरु भएसँगै दैनिक १ सय ५५ जनाको हाराहारीमा बिरामी उपचारका लागि अस्पताल आइरहेका जिल्ला अस्पताल खोटाङका प्रमुख डा.रामबहादुर केसीले जानकारी दिए ।
जटिल समस्या देखिएका बिरामीलाई भने अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ । अस्पताल आउने कतिपय बिरामीमा टाइफाईडको समस्या देखिएको छ । भाइरलबाट बच्न पानी उमालेर प्रयोग गर्न, बच्चा तथा बृद्धबृद्धालाई चिसोबाट जोगाउन, पिरो अमिलो नखान, न्यानो कपडा लगाउन अस्पतालले आग्रह गरेको छ ।