समाज

२५ वर्षमा ५ छोरीकी आमा भन्छिन्, होस् अब नजन्माउने

२५ वर्षमा ५ छोरीकी आमा भन्छिन्, होस् अब नजन्माउने

चितवन ।   होचो कद, पातलो ज्यान, थोत्रा लुगा । काखमा ५ महिनाकी छोरी । मलिन अनुहार । खोलाले डुबाएर बगर बनाएको गाउँबाट २ घण्टा हिँडेर माडी अयोध्यापुरीको बगई आइपुगेकी सम्झना चेपाङ श्रेष्ठ शनिबार राहत लिने लाइनमा भेटिइन् ।

राहत दिनेले चर्को स्वरमा पति इन्द्रको नाम लिएपछि भने उनको मुहार एकाएक उजेलियो। दुई हातले काखमा लिइरहेको बच्चा फरक्क पछाडि फर्काइन् र पछयौराले बाँधिन् । राहत दिनेले ३० केजी चामल, नुन, तेल र दालको बोरा उनका काँधमा थमाइदिए । कसैले सोध्यो, ‘बोक्न सक्छयौ र’ मसिनो स्वरमा उनले भनिन्,‘सक्छु, किन नसक्नु ।’ पिठयूँमा छोरी, काँधमा राहत बोकेर २ घण्टाको पैदल यात्रा गर्न उनले पाइला लम्काइन् ।

माडीको कुसुमखोलाका १ सय ६० घरधुरीबाट राहत लिन आएका सँगै जाने भनेपछि उनले छेवैको चौतारोमा एकछिन भारी बिसाइन् । पिठयूँकी छोरी फेरि फरक्क अगाडि फर्काएर काखमा लिइन् । ५ महिनाकी सुत्केरीलाई बच्चासित त्यति गह्रौं भारी बोकेर २–२ घण्टाको बाटो हिँड्न उनलाई घरकाले नै किन पठाएका होलान् ‘बूढा काममा गा’छन्, छोरीहरू सानै छन्,’ चौतारीमा बसेकी उनले भनिन् । उनी सासूससुरासँग छुट्टिएर पति र ५ छोरीसँग बस्दै आएकी रहिछन् । ससुरा पनि पोखरा पर्यटन परिषद्ले बाँडेको राहत लिन बगई आइपुगेका थिए । 

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सुकुम्बासी जीवन र चरम गरिबी झेलेर ५–५ सन्तान जन्माउन उनलाई पनि कहाँ रहर हुँदो हो र छोरा जन्माउने आशामा ५ छोरी जन्मेको उनले बताइन् । १५ वर्षमै भागी बिहे भयो । त्यतिखेर उनका पति चितवनकै कोराकमा बस्थे, जहाँ उनकी दिदीको घर थियो । सम्झनाको घर मकवानपुरको लोथरमा थियो । दिदी भेट्न उनी कोराक गइरहन्थिन् । त्यही बेला हो उनको भेट १६ वर्षीय इन्द्रसँग भएको । ३–४ पटकको भेटपछि दुवैको माया बस्यो । दुवै परिवार गरिब थिए । त्यतिबेला उनीहरूसँग मोबाइल हुने कुरै थिएन । कहिले सम्झना इन्द्रलाई भेट्न हिँडेरै कोराक पुग्थिन् । कहिले इन्द्र सम्झनालाई भेट्न लोथर पुग्थे । त्यस्तै ३ घण्टाको दूरी थियो दुई घरबीच। दुवैले भागेर विवाह गरे । परिवारबाट कुनै अवरोध भएन ।

२५ वर्षकै उमेरमा ३५–४० की जस्तै देखिएकी सम्झना छोरा नै हुनु नपर्ने कुरा पतिलाई सम्झाउन सक्दिनन् ।‘छोरा चाहिन्छ भन्दाभन्दै ५ वटी छोरी भइसके,’उनले भनिन्, ‘सम्झाउँदा पनि मान्नुहुन्न,छोरा नै चाहिन्छ भन्नुहुन्छ ।’ सासूससुरा,छरछिमेकबाट पनि छोरा पाउनुपर्ने दबाब भएको उनले सुनाइन् । ५ छोरी जन्मिँदासम्म उनले पतिसँग नाइँनास्ति गर्न सकिनन् । ‘छोरीले हेर्दैन,एउटा भए पनि मर्दापर्दा चाहिन्छ भन्छ,’ उनले भनिन्, ‘छोरै खोज्छ त के गर्ने ?’

५ छोरीलाई सम्हाल्न गाह्रो भएपछि उनले मनमा नानाथरी सोचिन् । बाढीअघि र पछिको उनको मनोविज्ञानमा परिवर्तन आएको छ । ‘पहिले मलाई पनि एउटा छोरा भए त हुन्थ्यो भन्ने थियो,’अब अर्को सन्तान नजन्माउने एकल सोच उनले पोखिन्,‘होस्, अब नजन्माउने ।

कान्तिपुर 

विशेष