समाज

पण्डितका लागि नयाँ आचारसंहिता लागूहुँदै, मृत्यु संकार पाँच दिन बनाइने

पण्डितका लागि नयाँ आचारसंहिता लागूहुँदै, मृत्यु संकार पाँच दिन बनाइने

काठमाडौं । आचरणमा नबसेका कारण समाजमा पण्डितको महत्व घट्दै जान थालेपछि आचारसंहिता बनाएर कार्यान्वयन गराउन देशभरका पण्डित जुटेका छन् ।

राष्ट्रिय धर्मसभा नेपालले आयोजना गरेको चौथो पण्डित सम्मेलनमा आचारसंहितालगायत समसामयिक विषयमा छलफल गरी निष्कर्ष निकाल्न ५६ जिल्लाका ३०० भन्दा बढी भेला भएका छन् ।

सम्मेलनको उद्घाटन गर्दै पशुपतिनाथ मन्दिरका मूलभट्ट गणेश भट्टले पण्डितले आफू नियममा बसी समाजलाई पनि सही मार्गमा र्डोयाउनुपर्ने बताए ।सभाका अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराईले पण्डितको महत्व केही घटे पनि कम भने नभएकाले पूर्ववत्रुपमा निष्ठाका साथ काम गर्नुपर्नेमा जोड दिए ।

शास्त्रअनुरुप पण्डितले गर्ने विधिविधानमा एकरुपता ल्याइ आचारसंहिता पालना गराउन कार्यक्रम आयोजना गरिएको जानकारी उनले दिए । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा. डा. देवमणि भट्टराईले आशौचका विषयमा विभिन्न धर्मग्रन्थमा उल्लेख भएका तथ्य समेटिएको कार्यपत्र प्रस्तुत् गरे ।

कार्यपत्रमाथि टिप्पणी गर्दै पण्डितहरुले पाँच दिनमा मृत्यु संस्कार सिध्याउने विधिलाई अपनाउन नसकिने बताए । कार्यक्रममा भारतबाट आएका भारतीय जनजागृति संघका मार्गदर्शक डा. चारुदत्त पिंगले, तन्त्रविशेषज्ञ डा. दिवाकर शर्मा, दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष लोकराज पौडेललगायतले पण्डितले आफ्नो संस्कारमा बसेर काम गर्नुपर्नेमा जोड दिए ।

सोमबार प्रा. डा. ऋषिराम पोखरेलले ‘के छ संस्कृतमा ?’ र सभाका अध्यक्ष भट्टराईले ‘नेपाली संस्कृतिका आयाम’ विषयमा कार्यपत्र प्रस्तुत् गरेका छन् ।कार्यपत्रमाथि छलफल गरी आचारसंहितासहितको काठमाडौं घोषणापत्र जारी गरिने सभाका प्रवक्ता सन्तोष वशिष्ठले जानकारी दिए ।

शत् र अशत् छुट्याइ समाजलाई मार्गदर्शन गर्नसक्ने व्यक्तिलाई पण्डित भनिन्छ । आचरणमा बसेका पण्डितले राष्ट्रलाई जागरण गर्न सक्छन् भन्ने वेदको वाक्य छ ।

विशेष