इतिहासमा आज

गौरा पर्व आज, यस्तो त गौरा पर्वको महत्व

गौरा पर्व आज, यस्तो त गौरा पर्वको महत्व


काठमाडौं । सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्व आजदेखि विधिवत् रुपमा सुरु भएको छ । गौरा पर्वको पहिलो दिन आज घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गरेका छन्।

आजका दिन महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाडामा भिजाएका छन् । यिनै पाँच अन्नको मिश्रणलाई ’बिरुडा’ भन्ने गरिन्छ ।  महिलाहरुले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ ।

सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्रयाएर पूजा–अर्चना गरि विवाहित महिलाहरुले दुबधागो चढाउने गर्छन ।  गौराष्टमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पुजाआजा गर्छन । साँझ पख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितहरुको भनाई छ ।

सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरि आफ्ना घर परिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ ।  सुदुरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा, डोटीका बासिन्दाले दशैं भन्दा पनि बढी महत्वका साथ मनाउने गौराको आगमनले यतिबेला सुदूरपश्चिममा चहलपहल बढाएको छ । गौरा पर्वको प्रमुख आकर्षणका रुपमा रहेको डेउडामा पौराणिक कथा, देवी देवताका गाथा, धार्मिक ग्रन्थ गाउने गरिन्छ ।


त्यती मात्रै नभएर सामाजिक विकृती विरुद्ध पनि डेउडाका माध्यमले तिखो व्यग्यं गर्ने गरिन्छ। महिलाहरुले यस अवसरमा आफ्ना सुख–दुःख डेउडाका माध्यमबाट व्यक्त गर्छन ।
आजको दिन सरकारले सार्वजनिक विदा दिने गरेको छ ।

विशेष