समाज

ड्रग्ससँग साटिन्छ जवानी, यस्तो छ ड्रग्स युजरको नालीबेली

ड्रग्ससँग साटिन्छ जवानी, यस्तो छ ड्रग्स युजरको नालीबेली


साउन १९ । कोटेश्वर, जडीबुटीमा डेरा गरी बस्दै आएकी २४ वर्षीया रश्मि (नाम परिवर्तन) ले सिरिन्जबाट ड्रग्स लिन थालेको पाँच वर्ष भयो । आफूले थाहा पाउँदा सडकमा रहेकी रश्मि सुरुमा डेण्ड्राइफ सुँघ्थिन् । बिस्तारै ठूली हुँदै जाँदा चुरोटको लत लाग्यो, अनि गाँजा, भाङ हुँदै अहिले उनी सिरिन्जको माध्यमबाट लिने ड्रग्समा पुगेकी छिन् । नियमित रूपमा ड्रग्स लिनुपर्ने बाध्यता छ उनलाई, तर खास पेसा भने केही पनि छैन । पेसा नभएपछि उनको त्यो बाध्यता पूरा गर्न जसले ड्रग्स दिन्छ उनी उसैसँग यौनसम्पर्क राख्छिन् । रश्मि ड्रग्स किन्न जसले पैसा दिन्छ उसैसँग यौन साट्न पनि पछि पर्दिनन, तर उनका अधिकांश यौन साथी उनीजस्तै ड्रग्स युजर हुन् ।

नेपाली समाजमा अचम्म लाग्ने अर्को जोडी हो, कोटेश्वर नै बस्दै आएकी २६ वर्षीया आरती (नाम परिवर्तन) र उनका श्रीमान् अजित (नाम परिवर्तन) । यी दुवै ड्रग्स युजर हुन् । उनीहरूको देखिने खालको कुनै व्यवसाय छैन । आरती भन्छिन हामी बेरोजगार हौं । आफ्ना लागि त आरतीले ड्रग्सको जोहो त गर्छिन् नै, साथै श्रीमान्का लागि उनैले ड्रग्स जोहो गरिदिनुपर्छ । त्यसका लागि उनी जसले ड्रग्स दिन्छन् ऊसँग श्रीमान्को सहमतिमै यौनसम्पर्क गर्न तयार हुन्छिन् ।

रश्मि र आरती त ड्रग्ससँग यौन साट्न बाध्य दुई उदाहरण मात्र हुन् । उपत्यकामा यसरी ड्रग्स लिन यौन साट्ने महिलाहरूको संख्या ठूलो रहेको एक सरकारी अध्ययनले देखाएको छ । उपत्यकाका तीनवटै जिल्लामा गत वर्ष स्वास्थ्य मन्त्रालयले ६ महिना लगाएर यो अध्ययन गरेको हो । मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौनरोग केन्द्रले २०१६ मा सिरिन्जबाट लागूपदार्थ सेवन गर्ने महिलाहरूको सामाजिक तथा व्यक्तिगत आनीबानीका विषयमा अध्ययन गरेको थियो ।

उक्त अध्ययनमा संलग्नमध्ये १७ प्रतिशत लागूऔषध सेवन गर्ने महिलाले लागूऔषध प्राप्त गर्न आफूहरू जो–कोहीसँग यौनसम्पर्क गर्ने खुलेर जवाफ दिएको उल्लेख छ । ती १७ प्रतिशतमध्ये १ सय २८ जना लागूऔषध प्रयोगकर्ता महिलाले आफ्ना नियमित यौन साथी पनि रहेको बताएका थिए । त्यसमा कसैले जीवनसाथी नै यौनसाथी रहेको बताएका थिए भने कतिपयले लागूऔषधसँग यौन साट्ने कुरा बताएको अध्ययनको नेतृत्व गरेका सुदीपराज खतिवडा बताउँछन् ।

अध्ययनको अर्को जोखिमको पाटो के थियो भने ड्रग्सका लागि पैसा वा ड्रग्स नै लिएर यौनसम्पर्क गर्नेमध्ये ५८ दशमलव ३ प्रतिशतले मात्र कन्डम लगाएर यौनसम्पर्क गरेको पाइएको छ, जसमा ४१ दशमलव ७ प्रतिशत महिलाले भने बिनाकन्डम नै यौनसम्पर्क गर्ने गरेको बताएका छन् । यसरी कन्डम नै नलगाई यौनसम्पर्क गर्दा उनीहरू सधैं यौनरोगको जोखिममा रहने खतिवडा बताउँछन् । ‘एक त सिरिन्जबाट लागूऔषध प्रयोग गर्दा यौन रोगको जोखिम छँदै छ ।’ खतिवडा भन्छन्– त्यसमाथि धेरै यौनसाथी भएकाहरू कन्डमबिनै यौनसम्पर्क गर्दा उच्च जोखिममा छन् ।

अझ पत्याउन र्गाहो पर्छ, तर यथार्थ कुरा हो, लागूऔषधको नशामा फसेका अधिकांश महिला १५ वर्ष पनि नपुगी यौनसम्पर्कमा पुग्ने गरेका छन् । त्यसमा कतिपय रहरले पुगेका छन् भने कतिपयले बाध्य भएर अनैतिक यौनसम्पर्कमा पुग्नुपरेको छ । सडकमै हुँदा आफूलाई फकाएर पहिलो पटक एउटा अधबैंसे मानिसले १४ वर्षको उमेरमा यौनसम्पर्क राखेको रश्मि बताउँछिन् । सडकमा बास हुँदा खान दिने कोही थिएन, सधै त्यही बाटो भएर हिँड्ने एउटा २८.३० वर्षको मानिसले खाना ख्वाउँछु भनेर लग्यो अनि यौन प्रस्ताव राख्यो ।

उनले भनिन दुई–चार दिन खाना ख्वायो, जोबन पनि लुट्यो । पछि आउन पनि छाड्यो अनि मैले आफैंले जिउनका लागि त्यसैलाई व्यवसाय बनाए । त्यतिबेला आफू चुरोटको लतमा भएको उनी बताउँछिन् । यौन व्यवसायमा फसेसँगै बिस्तारै चुरोट हुँदै गाँजा अनि अहिले सिरिन्जको माध्यमबाट ड्रग्सको नसामा पुगेको रश्मिले बताइन् । अध्ययनले पनि लागूऔषध प्रयोगकर्ताहरू १५ वर्ष पनि नपुगी बलात्कारको सिकार भएको देखाएको छ, जसको संख्या ३० प्रतिशत छ । सानैमा बलात्कारको सिकार भएका कारण कतिपयले पछि त्यसैलाई व्यवसाय बनाएको पाइन्छ भने कतिपय जीवनदेखि दिग्दार भै लागूपदार्थ दुव्र्यसनी भएको पाइएको खतिवडा बताउँछन् ।

साप्ताहिक

विशेष