मुख्य समाचार

नेपाल–चीनबीच चार नाकाबाट क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण हुने

नेपाल–चीनबीच चार नाकाबाट क्रस बोर्डर ट्रान्समिसन लाइन निर्माण हुने

साउन २० । चारवटा नाकाबाट नेपाल–चीनबीच क्रस–बोर्डर ट्रान्समिसन लाइन निर्माण हुने भएको छ ।

ऊर्जा मन्त्रालयले रसुवागढी–केरुङ, तातोपानी–खासा, कोराला–तिब्बत र किमाथान्का–चेन्ताङ नाकाबाट अन्तरदेशीय ४०० केभी ट्रान्समिसन लाइन निर्माण गर्ने भएको हो । विद्युत् आयात–निर्यातका लागि चीनसँग क्रस–बोर्डर ट्रान्समिसन लाइनका लागि दुई देशबीच समझदारीपत्र (एमओयू)को मस्यौदा चीन पठाइएको ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए ।

नेपालका तीन मुख्य नदीहरू सप्तकोसी, सप्तगण्डकी र कर्णालीलाई मुख्य आधार मानेर क्रसबोर्डर ट्रान्समिसन लाइन निर्माण हुने भएको हो । यसका लागि मुख्य चारवटा अन्तरदेशीय प्रसारण लाइन र नेपालभित्र पनि ४०० वा २२० केभी क्षमताका ट्रान्समिसन लाइनको विकास गर्ने एमओयूको मस्यौदामा उल्लेख रहेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको आगामी चीन भ्रमणमा यस विषयलाई एजेन्डा बनाइने ऊर्जा मन्त्रालय स्रोतले बतायो । देउवाले भदौको पहिलो साता भारत भ्रमण गर्ने तय भइसकेको छ । सो भ्रमण सकिएको केही समयपछि देउवा चीनको भ्रमणमा जाने परराष्ट्र स्रोतले जानकारी दिएको छ ।

भ्रमणका अवसरमा एमओयूमा हस्ताक्षर हुने सम्भावना छ ।

ऊर्जा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चीनको नेसनल इनर्जी कमिसनलाई अन्तरदेशीय ट्रान्समिसन लाइन विस्तारका लागि एमओयूको मस्यौदा पठाएको थियो । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पालामा चीनसँग भएको प्रारम्भिक चरणको छलफल तथा वार्तापछि नेपाल र चीनका सरकार क्रस–बोर्डर कनेक्टिभिटीका लागि सहमत भएका थिए । दुवै देशले इनर्जी कर्पोरेसन मेकानिज्म बनाएर नियमित छलफल गर्ने भनिएको थियो । तर, यो अहिले निष्क्रियप्रायः छ ।

नयाँ पत्रिका

विशेष