स्वास्थ्य

डा.केसीलाई सरकारले भन्यो, ‘अनसन तोड्नूस्, वार्तामा आउनूस्’

डा.केसीलाई सरकारले भन्यो, ‘अनसन तोड्नूस्, वार्तामा आउनूस्’

साउन २१ । आफूले दिएका सुझावसहित चिकित्सा शिक्षा ऐन आउनुपर्ने मागसहित १२ दिनदेखि आमरण अनसनमा रहेका प्रा.डा. गोविन्द केसीलाई अनसन तोडेर वार्तामा आउन सरकारले आग्रह गरेको छ।
शुक्रबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको शीर्ष नेतासहित सरोकारवाला निकायसँगको छलफलपछि सरकारले केसीलाई अनसन तोडेर छलफलमा बोलाउने निर्णय गरेको हो।
चिकित्सा शिक्षासम्बन्धी विधेयक संसदमा प्रवेश गरिसकेको तर, संसदीय प्रक्रिया पूरा गरेर पारित हुन समय लाग्ने भएकाले तत्काल अनसन तोडेर छलफलमा आउन सरकारले डा. केसीलाई आग्रह गरेको हो।
शुक्रबार साँझको बैठकको निर्णयबारे जानकारी दिँदै शिक्षा सचिव एवम् डा. केसीसँग वार्ताका निम्ति गठन भएको सरकारी वार्ता टोलीका संयोजक शान्तबहादुर श्रेष्ठले भने, ‘चिकित्सा शिक्षासम्बन्धी विधेयक संसदमा दर्ता भइसकेको छ र प्रक्रिया अगाडि बढिसकेको छ। त्यसमा दफावार छलफल गर्नुपर्ने भएकाले अनसन तोडेर छलफलमा भाग लिन आग्रह गर्ने निर्णय भएको छ।’
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व स्वास्थ्यमन्त्री गगन थापा, मुख्यसचिव राजेन्द्र किशोर श्रेष्ठ, शिक्षा सचिव श्रेष्ठ, महिला बालबालिका तथा समाज कल्याण समितिका संयोजक रञ्जुकुमारी झा, प्रमुख तीन दलका सांसद्लगायत सहभागी थिए ।
–अन्नपूर्ण पोस्ट्बाट

विशेष