मुख्य समाचार

पूर्वराजकुमारी प्रेरणालाई के अपुग छ र विजयावास छाड्दिनन् ?

पूर्वराजकुमारी प्रेरणालाई के अपुग छ र विजयावास छाड्दिनन् ?

काठमाडाैँ । नेपाल ट्रस्टका अधिकारीहरु चैतमा दुईपटक छाउनी(स्वयम्भू) स्थित पूर्वअधिराजकुमारी प्रेरणा शाह बस्दै आएको निवास ‘विजयावास’ पुगे । पहिलोपटक पुग्दा ट्रस्टका अधिकारीहरुलाई त्यहाँ प्रवेश नै दिइएन, त्यत्तिकै फर्कनु पर्यो । दोस्रोपटक निवासको मूल ढोका त खोलिदिए तर प्रेरणा र उनका पति राजबहादुर सिंहले भेट नै दिएनन् । निवासका कर्मचारीहरु सामान्य कुराकानीमात्र गरेर ट्रस्टका अधिकारीहरु फर्किए ।

उनीहरु त्यहाँ पुग्नुको खास कारण थियो, विजयवास नेपाल ट्रस्ट अन्तर्गत हुने सर्वोच्च अदालतको फैसलाबारे जानकारी गराउनु । फैसला अनुसार विजयवास अन्तर्गत रहेका घरजग्गा नेपाल ट्रस्ट अन्तर्गत हुने जानकारी गराउँदै त्यो ठाउँ छिटो छोड्न अनुरोध गर्ने योजना थियो उनीहरुको । २१ पुस ०७३ मा सर्वोच्च अदालतको पूर्ण इजलासले १५ रोपनी १ आनामा फैलिएको विजयावासमा नेपाल ट्रस्ट अन्तर्गत हुने फैसला सुनाएको थियो । प्रधानन्यायधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले गरेको त्यो फैसलाउपर पुनरावेदन लाग्ने सम्भावना छैन । तर, पूर्वअधिराजकुमारी प्रेरणाले विजयावास छाड्ने छनक दिएकी छैनन् ।

ट्रस्ट भने पूर्वअधिराजकुमारीले विजयावास नछाडे फैसला कार्यान्वयनका लागि सर्वोच्च अदालतलाईलाई गुहार्ने योजनामा छ । त्यसका लागि फैसलाको पूर्ण पाठको पर्खाइमा रहेको ट्रस्टका अधिकारीहरु बताउँछन् । ट्रस्टका प्रवक्ता लेखबहादुर कार्की भन्छन्, ‘उहाँ (पूर्वअधिराजकुमारी प्रेरणा) ले त्यो ठाउँ खाली नगरी सुखै छैन । सर्वोच्चले हाम्रो पक्षमा फैसला गरेकाले ट्रस्टले जसरी पनि त्यो घरजग्गा फिर्ता लिएरै छाड्नेछ ।’

नेपाल राष्ट्रिय साप्ताहिकबाट

विशेष