समाज

भैँसीपालनमा रु ६५ लाख ऋण लगानी

भैँसीपालनमा रु ६५ लाख ऋण लगानी

साउन २२ । समाजका विपन्न एवं आर्थिक अवस्था कमजोर भएका पोखरा १८ सराङकोटका १३८ परिवारलाई गुणस्तरीय ‘जीवन नेपाल’ नामक गैरसरकारी संस्थाले भैँसी खरिदका लागि अहिलेसम्म रु ६५ लाख ७० हजार बराबरको ऋण प्रदान गरेको छ ।

बालविकास केन्द्रमा भर्ना भएका बालबालिकाका लागि पोषण एवं अभिभावकको आर्थिक अभिवृद्धिका लागि १० वर्षअघिदेखि भैँसीपालनमा लगानी भएको कूल रकमको २५ प्रतिशत छुट हुने र बाँकी प्रत्येक महिना दुई हजारका दर तिर्नुपर्ने व्यवस्था छ ।

पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले गुरणस्तरीय नेपालद्वारा स्थानीय बालविकास केन्द्र देउराली पाटनमा आज आयोजित कार्यक्रमका भैँसी खरिदका लागि २७ परिवारलाई रु १६ लाख २० हजारको चेक हस्तान्तरण गरे ।

उहाँले विभिन्न संघसंस्थाले सञ्चालन गरेका कार्यक्रम व्यवस्थित र समुदायमुखी हुनुपर्ने बताउँदै हेर्ने र उड्ने स्थलका रुपमा परिचित महत्वपूर्ण पर्यटकीयस्थल सराङकोट आउने पर्यटकको आवश्यकताअनुसारका भौतिक पूर्वाधार निर्माण गरिनुपर्नेमा जोड दिए ।

विकटतालाई निकट बनाउन महानगरका सबै वडालाई यातायात सञ्जालले जोड्नुपर्ने बताउँदै उनले भने, “पहाडमा नयाँ बाटो खनेर जोखिम बढाउनुभन्दा पुराना बाटोलाई व्यवस्थित गर्नुतर्फ सबैको ध्यान जानु पर्दछ ।”

कार्यक्रममा विसं २०७३ को एसइइ परीक्षामा सो वडाका सामुदायिक विद्यालयतर्फबाट सर्वोत्कृष्ट अंक ल्याउने धीरज थापा र अप्सरा जिसीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष रणबहादुर थापा, नेपाली काँग्रेका शिव तिमिल्सिना, एमालेका पुस्कर थापा, समाजसेवीद्वय झपटबहादुर थापा र यामबहादुर थापा, वडासचिव रुद्र बस्ताकोटी, बालविकास केन्द्रका प्राचार्य गोमा थापालगायतले यस क्षेत्रको शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा संस्थाले महत्वपूर्ण भूमिका निर्वाह आएको बताए । 

bhaisi palan

विशेष