मुख्य समाचार

साझा प्रकाशनमा एमाले कर्मचारीद्वारा महिला कर्मचारीमाथि हातपात

साझा प्रकाशनमा एमाले कर्मचारीद्वारा महिला कर्मचारीमाथि हातपात


काठमाडौं । पुल्चोकस्थित साझा प्रकाशनको कार्यालयमा आइतबार कर्मचारीहरुबीच नै कुटाकुट भएको छ । एमाले समर्थित कर्मचारीले माओवादी समर्थित महिला कर्मचारीमाथि कुटपिट गरेपछि अहिले ललितपुर प्रहरीले विवाद मिलाउन पहल गरिरहेको छ । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा पनि अहिले जिल्ला प्रहरी कार्यालय ललितपुर पुगेका छन् ।

सो क्रममा महाप्रवन्धक शर्मा पक्षका र विपक्षका कर्मचारीहरुबीच समेत झडप भएको थियो । शर्माले नियुक्त गरेका करारका कर्मचारी र स्थायी तथा पुराना कर्मचारीबीच सामान्य भनाभन झडपमा परिणत भएको हो ।

अध्यक्ष तथा महाप्रबन्धक शर्माले अवैध किताबलाई वैधानिकता दिन खोजेको भन्दै एमाले समर्थित कर्मचारीले विवाद खडा गरेपछि माओवादी समर्थित कर्मचारीले त्यसमा सत्यता नभएको बताइरहँदा उनीहरु कुटपिटमा उत्रेका हुन् । साझाका एक कर्मचारीका अनुसार, एमाले समर्थित पुरुष कर्मचारीले माओवादी समर्थित महिला कर्मचारीमाथि हातपात गरेपछि त्यहाँको वातावरण तनावग्रस्त बनेको थियो । त्यसपछि जावलाखेल प्रहरीले हस्तक्षेप गरेको थियो ।

साझाले २०७४ को पाठ्यपुस्तक छाप्न अल्पाइन छापाखानामा पठाएको थियो । तर २०७२ को पाठ्यपुस्तकलाई कभर फेरेर र मूल्य बढाएर ल्याएको आरोप लगाउँदै केही कर्मचारीले विरोध गरेपछि विवादले उग्ररुप लिएको हो । कर्मचारीहरुले अल्पाइन छापाखानाबाट ल्याइएको एक गाडी किताब नियन्त्रणमा लिएर जावलाखेल प्रहरीको जिम्मासमेत लगाएका छन् ।

साझा प्रकाशनसँग आफ्नै छापाखाना छ । तर उसले केही पुस्तकहरु निजी छापाखानामा पनि छाप्न दिने गरेको छ । साझाले यसपटक पनि २०७४ सालका लागि पुस्तकहरु छाप्न अल्पाइनलाई जिम्मा दिएको थियो । तर, महाप्रवन्धक शर्माले आफ्नो सेटिङमा पुरानो २०७२ सालको पुस्तकको कभर फेरेर २०७४ लेखेको र मूल्य पनि बढाएको असन्तुष्ट कर्मचारीहरुको आरोप छ ।

साझा प्रकाशनले ०७२ सालमा छैटौं संस्करण प्रकाशन गर्दा ‘सबैको नेपाली’ किताबको मूल्य २ सय ४५ रुपैयाँ राखेकोमा अहिले त्यही पुस्तकको मूल्य बढाएर २ सय ९९ रुपैयाँ लेखाएर ल्याएको असन्तुष्ट कर्मचारीको आरोप छ ।

विशेष