एकै दिन पति र नवजात छोरी गुमाउनुपर्दा...
काठमाडौं । नियतिले मानिसलाई ठगेपछि कसैको केही लाग्दैन । भाग्यले ठगिएपछि आफ्नो जीवनमा घटेको अपूरणीय क्षतिको पीडा भोग्नुपरेको छ रामेछापको दोरम्बा गाउँपालिका–५ रजमनटारकी २७ वर्षीया रिमिता श्रेष्ठले ।
साउनको पहिलो हप्तासम्म सुखैसुखले भरिएको जीवनमा अहिले एकैचोटि दुईवटा बज्रपात परेपछि उनी अहिले रुन पनि सकिरहेकी छैनन् । हाँस्ने कुरा त अब उनको जीवनबाट कोसौं टाढा भागेको छ । व्रत बसेर पतिको आयु बढाउने साउन महिनामै पति नै गुमाउनुपर्ला भनेर उनले रत्तिभर सोचेकी थिइनन् ।
पति मात्रै होइन, दोस्रो सन्तानका रूपमा भर्खर जन्मिएकी छोरीलाई घरमा लगेर न्वारान गर्न पनि नपाउँदै अस्पतालबाटै सदाका लागि बिदा गर्नुप-यो । एकै दिनमा दोहोरो पीडा बोक्न बाध्य पत्नी र नवजात शिशुकी ती आमाको वेदना अहिले कसैले पनि तुलना गर्न सकिरहेको छैन । जीवनमा एकैचोटि दुईवटा बज्रपात परेर कहिल्यै निको नहुने पीडा खप्न विवश रीमिता यतिखेर आफ्नो पति र नवजात छोरीको किरियामा बसेकी छन् ।
लामो समयदेखि कतार एयरवेज कतारमा सुपरभाइजरको काम गर्दै आएका रिमिताका २८ वर्षे पति इन्द्र श्रेष्ठ दोस्रो सन्तान जन्मिने हर्षको बेला पारेर बिदा लिई कतारबाट गत २८ असारमा काठमाडौं उत्रिएका थिए । कोटेश्वरमा भाडामा बस्दै आएकी रिमिता पति काठमाडौं आएपछि उनको खुसीको सीमा नाघेको थियो । बाबुको आँखैअगाडि आफ्नो दोस्रो सन्तान जन्मिने भयो भनेर उनी दंग थिइन् । तर उनको खुसीको सीमा पति फर्केको तीन हप्ता पनि टिक्न पाएन ।
इन्द्र काठमाडौं आएको आठौं दिनमा पाटन अस्पतालमा रिमिताको कोखबाट साउन ५ गते दोस्रो सन्तानका रूपमा छोरी जन्मिन् । जन्मिँदादेखि नै मुटुको भल्बमा समस्या देखिएपछि नवजात शिशुलाई पाटन अस्पतालको आईसीयूमा राखेर उपचार गरिराखेको थियो । छोरी जन्मेको खुसी एकातिर र त्यति सानी नानीको मुटुमा समस्याको पीडा अर्काेतिर बोकेर रातभरि सुत्केरी पत्नी रिमितालाई कुर्न पाटन अस्पताल बसेका इन्द्र भोलिपल्ट एकाबिहानै मोटरसाइकल चढेर कोटेश्वर डेरामा जाँदै थिए ।
बालकुमारी पुलबाट कोटेश्वर चोक नपुग्दैको चक्रपथमा बनेको नयाँ अकासे पुलमुनि उनी चढेको बा७२प २४७५ नम्बरको मोटरसाइकल एक्कासि पल्टियो र उनी टाउकोमा गम्भीर चोट लागेर घाइते भए । एकाबिहानै तीव्रगतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको भनाइ छ । कोटेश्वर प्रहरीले उनलाई तत्कालै उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल लग्यो । अस्पतालका चिकित्सकले तत्काल उनको उपचार सुरु गरे । उनको टाउकोमा जमेको रगत भोलिपल्ट शल्यक्रिया गरी निकालेपछि इन्द्र होसमा आएका थिए । र, केही दिनपछि उनी खान र बोल्न पनि थाले ।
उता पाटन अस्पतालमा १२ दिन राखेर उपचार गरेपछि पनि नवजात छोरीको स्वास्थ्यमा सुधार नभएपछि तत्काल शल्यक्रियाका लागि उनलाई साउन १८ गते गंगागाल हृदयकेन्द्रमा लगियो । शल्यक्रियाकै क्रममा जन्मेको १४औं दिनमा साउन १९ गते ती नवजात छोरीको मृत्यु भयो ।
उता काठमाडौं मेडिकल कलेजमा शल्यक्रिया गरी होसमा आएर खानपिन गर्न थालिसकेका इन्द्र अचानक फेरि बेहोस भए । उपचारका क्रममा उनलाई निमोनिया भएको पत्ता लागेर त्यसको उपचार सुरु नहुँदै साउन १९ गते नै नवजात छोरीका पिता अर्थात् इन्द्रले पनि यो संसार त्यागे ।
साउनको पहिलो हप्तासम्म उत्साह र उमंग भरिएको भविष्यको कल्पनामा रमाएकी रिमितालाई साउन १९ गते अब कहिल्यै पनि दोहोरिएर नआओस् जस्तो लागेको छ । किनकि त्यसै दिन उनले आफ्नो सौभाग्यका रूपमा रहेका पति र लक्ष्मीका रूपमा भित्रिएकी नवजात छोरी दुवै गुमाउनुप-यो । मुटुको भल्बको शल्यक्रिया गर्दागर्दै मृत्यु भएकी नवजात छोरीको शव शनिबार नै अन्त्यष्टि गरियो । इन्द्रको शवको पोस्टमार्टम गरेपछि साउन २२ गते आइतबार पशुपतिमा दाहसंस्कार गरियो ।