इतिहासमा आज

आज गाइजात्रा, यस्तो छ यसको विशेष महत्व

आज गाइजात्रा, यस्तो छ यसको विशेष महत्व


आज साउन शुक्ल प्रतिपदा अर्थात गाइजात्रा विशेषगरी नेवार समुदायले मनाउने यस पर्वमा वर्षभरि दिवंगत आफन्तहरुको चिर शान्तिको कामना गर्दै गाईजात्रा पर्व मनाइदै छ ।

यस पर्वको छुट्टै धार्मिक एमव् सांस्कृतिक महत्व त छंदैछ अझ नेपाली समाजका विकृति साथै राजनीतिक विसङगतिप्रति व्यङग्य गर्ने दिनका रुपमासमेत परिचित छ ।

ऐतिहासिक पृष्ठभुमिअनुसार पुत्रशोकले विव्हल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मध्यकालिन राजा प्रताप मल्लले जनतलाई आआफ्ना मरेका व्यक्तिका संझनामा गाइजात्रा निकाली सहर परिक्रममा गराउनु भनी निर्देशन दिएका थिए । तर, यतिले समेत रानीको मन शान्त नभएपछि विभिन्न प्रकारका प्रहसन तथा व्याङग्यात्मक कार्यक्रम पनि गर्न आदेश दिएअनुसार नै अहिलेसम्म प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट गाइजात्रा पर्व मनाउने प्रचलन रहेको छ ।

यसैबेलादेखि प्रचलनमा आएको गाइजात्रा हनुमानढोकास्थित राजप्रसाद भएर जानुपर्ने प्रथा अझै पनि रहिआएको छ । विशेषगरी नेवार समुदायले मनाउने यस पर्वको धार्मिक मान्यतासमेत रहिआएको छ । हिन्दुधर्मको गरुढ पुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्य ढोका वर्षभरिनै बन्द हुने गर्दछ र पृ्थ्विलोकमा गाईजात्रा पर्व मनाएपछि मात्रै यमलोकको ढोका खुल्ने र मृतात्माले यमलोक प्रवेश पाई मुक्ति पाउने धार्मिक विश्वाससमेत रहेको छ ।

राजधानी काठमाडौं लगायत, भक्तपुर र ललितपुरको पाटनमासमेत विशेष रुपमा गाईजात्रा पर्व मनाउने प्रचलन रहेको छ । गाईजात्रालाई नेपाल भाषामा सापारुसमेत भन्ने गरिन्छ । गाईलाई विधिवत रुपमा नगर परिक्रममा गराएमा मृत्यु भएका व्यक्तिहरु गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वाससमेत रहेको छ । पितृगणको सम्झनामा गाईका रुपमा बालबालिकालाई सिंगारेर पनि नगर परिक्रममा गराइन्छ । दिवङगत आफन्तको सम्झनामा गाईजात्राका सहभागीलाई श्रद्धालुले दूध, फलफुल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने चलन रहेको छ । तर, धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको पर्व गाइजात्रा पछिल्लो समय भड्किलो बन्दै गएकोप्रति भने कतिपय चिन्ता व्यक्त गर्छन् ।

पछिल्लो समयमा गाइजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङगति उजागर गर्न सार्वजनिक रुपमा मनोरञ्जनात्मक तथा व्यङग्यात्मक ढङगले विविध कार्यक्रमको आयोजना गर्नुका साथै विभिन्न संचारमाध्यमहरुलेसमेत गाइजात्रा विशेष कार्यक्रमको प्रसारण गर्ने प्रचलन बढ्दै गएको छ। प्रत्येक वर्ष मनाइने गाईजात्रा पर्वले समाजका विकृति विसङ्गतीलाई खबरदारी गर्नका लागि महत्वपूर्व भुमिका त खेल्छ नै आफ्ना मृतक आफन्तहरुलाई एक दिनभएपनि सम्झनका लागि यस पर्वले प्रेरित गर्ने गरेको छ।

विशेष