प्रवास

भारतीय प्रहरीको ज्यादती, आमाको उपचार गर्न गएका नेपाली युवक भारतमा पक्राउ

भारतीय प्रहरीको ज्यादती, आमाको उपचार गर्न गएका नेपाली युवक भारतमा पक्राउ


काठमाडौ। दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोपमा भारतीय प्रहरीले एक नेपाली युवालाई सिलिगुढीबाट पक्राउ गरेको छ ।

आमाको उपचारका लागि सिलिगुढी पुगेका सूर्योदय नगरपालिका–१० इलामका २७ बर्षीय उदयहाङ फागोलाई सोमबार सिलिगुढी मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको हो ।

आमाको पेटको उपचार गराउन सिलिगुढी स्थित फेमेली क्लिनमा पुगेका फागोलाई क्लिनक परिसरबाटै प्रहरीले पक्राउ गरेको हो । गत जुलाई २९ तारिखमा आन्दोलनका क्रममा दार्जि्लिङको सुकुनामा भएको झडपमा सामेल भएको आरोपमा उनलाई पक्राउ गरिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

गोर्खाल्याण्ड आन्दोलनप्रति कुनै संलग्न नै नभएको र विनाकारण फागोलाई पक्राउ गरेर भारतीय प्रहरीेले अत्याचार गरेको भन्दै उनकी दिदी साधना फागोले तत्काल रिहाइको माग गरेकी छन् ।

मंगलबार फागोलाई भेट्न गएका परिवारका सदस्यलाई सम्पर्कमा आउन समेत नदिएको दाजु शरन फागोले जानकारी दिए । पक्राउपछि नेपाली भएको प्रमाण पेश गर्न भनेको प्रहरीले मंगलबार पाँचवटा मुद्धा सहित अदालतमा उभ्याएको फागोले बताए ।

उनलाई हतियार प्रयोग गरेर सरकारी काममा अवरोध र्पुयाएको, सरकारी सम्पती नष्ट गरेको लगायतका मुद्धा लगाइएको भारतीयसञ्चार माध्यमले जनाएका छन् ।

दिदी साधनाले भनेकी छन, ‘हामीलाई गोर्खाल्याण्ड आन्दोलनबारे सरोकार नै छैन, यता आइरहनु जरुरी पनि छैन तर उपचारका क्रममा आउँदा प्रहरीले गम्भीर मानवअधिकारीको उल्लघंन गरेको छ’,उनले भनिन मेरो भाईलाई तत्काल रिहा गरियोस ।’

गोर्खाल्याण्ड आन्दोलनमा नेपालीको घुसपैठ भएको आरोप लगाउँदै आएको बंगाल सरकारले पहिलो पटक नेपाली युवा फागोलाई निशाना बनाएको हो ।

फागोका परिवारले न्यायका लागि पहल गरिदिन सम्बन्धित पक्षसँग आव्हान गरेका छन् । उनलाई विना शर्त रिहाइका लागि पहल गरिदिन आग्रह समेत गरेका छन् ।

सुकुनामा भएको आन्दोलनमा प्रदर्शनकारीहरुले खुकुरी जुलुस निकालेका थिए । सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपका क्रममा दर्जनौं प्रहरी समेत घाइते भएका थिए ।

विशेष