विराटनगरबाट काठमाडौंको हवाइ यात्रा जम्मा १७ सय !
काठमाडौं । विराटनगरबाट–काठमाडौं यात्रा गर्ने यात्रुहरुलाई खुसीको खबर छ । किनभने विराटनगरबाट–काठमाडौं आउने जहाजको टिकट मात्र १७ सयमा पाउन थालिएको छ ।
यो टिकटको मूल्य बसको टिकटको मूल्य बराबर हो । विराटनगरबाट काठमाडौं आउने माइक्रोले १५ सय लिन्छन् भने झण्डै १० देखी १२ घण्टा यात्रा गर्नुपर्छ । त्यही मूल्यको हाराहारीमा ३० मिनेटदेखी ४५ मिनेटभित्र आरामदायी सिटमा जहाज चढेर काठमाडौं आउन पाईन्छ ।
दशैं नजिकिएसँगै विराटनगरबाट काठमाडौं आउने जहाजको टिकटको मूल्य अत्याधिक सस्तिएको हो । शुक्रबारबाट एक हप्ताका लागि भाडा सस्तिएको विमान कम्पनीहरुले जनाएका छन् । तर यो भाडा दशैंको टिकाको दिनसम्म कायम हुने स्रोत बताउँछ ।
विगत बर्षहरुमा पनि यसरी नै भाडा सस्तो हुने गरेको थियो । सामान्यतया अरुबेला तीन हजारदेखी ७ हजारसम्म विराटनगर–काठमाडौं हवाई टिकटको मूल्य पर्छ । नेपाल एयरलाइन्स, बुद्ध एयरलाइन्स, यति एयरलाइन्स, सौर्य एयरलाइन्स र श्री एयरलाइन्सले भाडा घटाएका हुन् ।
हवाई मार्गबाट काठमाडौं आउने यात्रुहरु कम भएपछि यति धेरै भाडा सस्तो भएको हो । जहाज खाली उड्नु भन्दा सस्तो टिकटको अफर ल्याएर विमान कम्पनीहरुले बसका यात्रुहरुलाई हवाई उडानमा आकर्षित गरिरहेका छन् ।
विराटनगर विमानस्थलबाट काठमाडौं दैनिक ६ सय बढी यात्रुले आउजाउ गर्ने भए पनि यतिबेला दुई सय पनि यात्रुहरु आवतजावतमा छैनन् । काठमाडौंबाट–विराटनगर जाने यात्रुको चाप भने उस्तै छ । दशैं नजिकिएसँगै यात्रुहरु काठमाडौं आउने भन्दा बाहिरिने दिनहुँ बढ्न थालेका छन् ।