खेल

वर्ष २०७३ को उत्कृष्ट खेलाडीमा किरण र नङ्सल, कसले कुन अवार्ड जिते

वर्ष २०७३ को उत्कृष्ट खेलाडीमा किरण र नङ्सल, कसले कुन अवार्ड जिते

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्ने स्पाेर्टस अवार्डमा विभिन्न विधामा खेलकर्मीहरु सम्मानित भएका छन् । उक्त कार्यक्रम राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएकाे छ ।

नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरणकुमार लिम्बु वर्ष २०७३ को उत्कृष्ट खेलाडी भएका छन् । 

एएफसी सोलिड्यारिटी कप जित्न महत्वपूर्ण भूमिका खेलेको भन्दै मञ्चले उनलाई सम्मान गरेको हो । सोलिड्यारिटी कपको सेमीफाइनलमा लाओसका तीन पेनाल्टी रोकेका थिए। यस्तै उनले एएफसी एसियन कप छनोटमा फिलिपिन्ससँग पनि एक पेनाल्टी बचाउ गरेका थिए ।

हाल माल्दिभ्सको प्रिमियर लिग क्लब टीसी स्पोर्ट्मा अनुबन्धित रहेका उनले बंगलादेशमा भएको शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा टीसी स्पोर्ट्सलाई च्याम्पियन बनाएका थिए । लिम्बु हाल माल्दिभ्समा रहेकाले उनकी आमाले अवार्ड लिएकी थिइन् ।

यस्तै उत्कृष्ट महिला खेलाडीको उपाधि ब्याडमिन्टनकी नङ्सल तामाङले हात पारिन् । उनी नेपाली महिला ब्याडमिन्टनकी नम्बर एक खेलाडी हुन्। देशभित्रै भएका पुष्पलाल स्मृति, कृष्णमोहन स्मृति र खुला राष्ट्रिय ब्याडमिन्टनमा उनी च्याम्पियन बनेकी थिइन् ।

यस्तै जुडो खेलाडी मनिता श्रेष्ठ युवा वर्ष खेलाडी २०७३ भएकी छन् ।  मिनिताले कोचीमा भएको १० औं क्याडेट एसियन जुडो च्याम्पियनसिपमा मुलुकका लागि कास्यपदक जितेकी थिइन् ।

सातौं राष्ट्रिय खेलकुद, उपत्यकाव्यापी अम्बिका मेमोरियल च्याम्पियनसिप र ओलम्पिक डे सिनियर जुडोमा समेत स्वर्ण जितेकी उनलाई उत्कृष्ठ महिला खेलाडीको रूपमा सम्मान गरिएको हो ।

यस्तै म्याराथन र हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी सशस्त्र प्रहरी बलकी खेलाडी कान्छुमाया कोजुले पिपुल्स च्वाइस विधामा अवार्ड जितेकी छन् । अघिल्लो वर्ष आयोजित ५ वटा हाफ म्याराथनमा स्वर्ण जितेकी उनले सहभागी सबै म्याराथुन जितेकी थिइन् ।

एसएमएस भोटिङ र फेसबुक लाइकको आधारमा सबैभन्दा बढी ६० हजारभन्दा बढी भोट पाएकी उनले अवार्ड पाएकी हुन् ।

यस्तै एथलेटिक्सका पुष्पराज ओझाले वर्षको उत्कृष्ट प्रशिक्षकको उपाधि जिते । रियो ओलम्पिकमा नेपालका तर्फबाट सहभागी सरस्वती भट्टराई र हरिकुमार रिमालको प्रशिक्षकका रुपमा उनले काम गरेका थिए ।

आर्मी क्लबका समेत प्रशिक्षक रहेका ओझाले सातौं राष्ट्रिय खेलकुदमा आर्मीलाई २२ स्वर्ण, १६ रजत र ८ कांस्यपदक दिलाउन सफल भएका थिए ।

यस्तै कैदीबन्दिहरुका सन्तानलाई जुडो प्रशिक्षण गराउँदै अन्तर्राष्ट्रिय खेलाडी जन्माउन सफल बन्दी सहायता निगम (पाम) ले वर्ष २०७३ को स्पेशल अवार्ड हात पारेको छ ।

त्यससँगै प्यारा एथलेटिक्स अफ द इअरको अवार्ड नेपाली दृष्टि विहिन क्रिकेट टिमका सदस्य पदम बडेलाले हात पारेका छन् । बडेलाले भारतमा भएको दृष्टिविहिन टी २० विश्वकपमा दोहोरो शतक सहित २ सय ११ रन बनाएका थिए ।

यस्तै मनिता श्रेष्ठ प्रधान यसै अवार्डमा वर्षको उत्कृष्ट युवा खेलाडीबाट सम्मानित भएकी थिइन् ।

कार्यक्रममा टिम अफ द इअरबाट नेपाली राष्ट्रिय भलिबल टोलीलाई सम्मान गरिएको थियो ।

नेपालको पहिलो प्रो गल्फर तथा गल्फका प्रशिक्षक घनश्याम थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । १९७५ र १९७७ मा विश्वकप समेत खेलिसकेका उनले भारत र जर्मनीमा समेत प्रशिक्षकको भूमिका निभाईसकेका छन् ।

 

pulsar sports award

विशेष