गर्भपतनको अखडा बन्दै धनगढी
मन्जु मिश्र
धनगढी । सुदूरपश्चिमको मुख्य शहर धनगढी पछिल्ला समयमा मिटरब्याज र ढुकुटीका कारण आक्रान्त बनिरहेको समाचार आइरहँदा फेरी अर्को निर्दयी र मानवेत्तर क्रियाकलापमा संलग्न भइरहेको खुल्न आएको छ । त्यहाँका अधिकाँशमा मानिसमा भ्रुणको पहिचान गरी गर्भपतन गर्ने कार्य स्वतःस्र्फूत रुपमा गर्ने प्रचलन विकास भएको छ । मानिसहरुले यसलाई सामान्य रुपमा समेत लिने गरेको पाइएको छ । हुनत नेपालको कानुनले १२ सातासम्मको गर्भलाई पतन गराउन मिल्ने प्रावधान गरेको भएपनि गर्भपतन गर्नू अघी भु्रणको लिंगको पहिचान भने गर्न पाइँदैन ।
महिला अधिकारकर्मीहरुको स्वरलाई सम्बोधन गर्दे तत्कालीन सरकारले २०५९ सालमा गर्भपतनलाई कानुनी मान्यता प्रदान गरेको थियो । त्यसयता नेपालमै सुरक्षित रुपमा गर्भपतन गराउने संस्थाहरुसमेत खुलेका छन् । जिल्ला तथा अञ्चल अस्पतालहरुमा यो सेवा प्राप्त गर्न सकिन्छ । नेपालमा मेरी स्टोप्स सेन्टरले पनि सुरक्षीत गर्भपतन सेवा उपलब्ध गराउँदै आएको छ ।
तर धनगढीमा भइरहेको गर्भपतनमा न त कानुनको पालनामा भइरहेको छ न त अनिच्छित गर्भधारणको कारण नै हो । यो त छोरा पाउनै पर्ने कुरामा अभ्यस्त भइरहेको हाम्रो समाजको परिणामले गर्दा भएको हो । साधारणतया चार महिनाको गर्भ पश्चातमात्र गर्भमा रहेको भ्रुणको पहिचान गर्न मिल्छ । अझ गर्भ जति धेरै महिनाको भयो त्यति नै नै शिशुको लिंग पहिचान गर्न सजिलो हुन्छ । धेरैजसोमा एउटा छोरा र एउटा छोरीको मान्यता रहेको पाइन्छ । तर पढेलेखेका र आफूलाई आधुनिक भन्न रुचाउने शहरियाहरु नै यसमा संलग्न भएको पाइएको छ । स्वयं डाक्टरहरुले समेत आफ्नो दोस्रो सन्तान जन्माउनु अघि गर्भको परीक्षण गराइरहेको पाइएको छ । नजिकैको भारतको सानो व्यापारिक केन्द्र धनगढी नाकाको पलिया र महेन्द्रनगर हालको भिमदत्तनगर नगरपालिका नाकाको खटीमा शहरमा भ्रुण जाँच गर्दै गर्भपतन गर्न त्यहाँका मानिसहरु पुग्ने गरेका छन् ।
धनगढी उपमहानगरपालिका–३ की ३८ वर्षीया निर्मला (नाम परिवर्तन) ले १० वर्षको बीचमा पलियास्थित डा. अनिलकुमार कपुरको क्लिनिकमा गर्भ परीक्षण गराइसकेकी छन् । तर, गर्भमा रहेको बच्चा छोरी नै भएपछि उनले तीन पटक गर्भपतन गराइसकेकी छिन् । उनको कोखबाट पहिला नै दुई छोरीको जन्म भइसकेको छ । निर्मलाले भनिन्, ‘धेरैले मलाई कपुर भन्दा सक्सेना राम्रो छ भने । मलाई भने डा. कपुरमै विश्वास छ । उसले जजसको छोरा छ भनेको छ छोरा नै जन्मिएको छ ।’ अहिले उनको पेटमा फरी गर्भ रहेको छ, तर चार महिना पुगेपछि मात्र त्यो गर्भ राख्ने नराख्ने थाहा हुनेछ ।
फूलबारीकी ३५ वर्षीया कमला पनि आफ्नो दोस्रो सन्तान जन्मनुअगावै पलियामा गएर लिंग परीक्षण गराएपछि ढुक्क भइन् । ‘दुई सन्तान इश्वरका बरदान’ भन्दै उनी खुसीले दिन बिताइरहेकी छिन् । सक्सेनाले उनीससँग पाँच हजार भारु लिएको थिए । ‘५ हजार भारु तिर्दा नै छोरा छ भनेर ढुक्क भइन्छ भने किन चेक नगराउने ?’ कमलाले भनिन् ।
फूलवारीकै ३० वर्षीया सोनिकाको भने भनेजस्तो केही भएन । उनले पहिलो पटक सक्सेनासँग गर्भ जाच गराइन् । सक्सेनाले छोरी रहेको बताए । पछि उनी कपुर क्लिनिकमा गइन् । त्यहाँ भने छोरा रहेको बताइयो । राख्ने नराख्ने द्विविधा हुँदाहुँदै जन्मिने मिति आइहाल्यो । अस्पताल जाँदै गर्दा बाटोमा नै उनको शिशुको जन्म भयो । उनले छोरा कि छोरी भनेर सोध्ने हिम्मत पनि गरिनन् । तीन छोरीकी आमा उनले फेरी छोरी नै जन्माइन् ।
नेपालको प्रजनन स्वास्थ्यसम्बन्धी कानुनले गर्भ राख्ने वा नराख्ने, सन्तान कतिवटा जन्माउने सम्पूर्ण अधिकार आमालाई प्रदान गरेको छ । २०५९ सालमा पारित भएको गर्भपतन सम्बन्धी कानुनअनुसार, गर्भको कारणले महिलाको जीवनलाई वा उनको शारीरिक तथा मानसिक स्वास्थ्यलाई खतरा पर्ने भएमा वा गर्भमा रहेको भ्रुणमा कुनै खरावी वा शिशु अपांग जन्मिने देखिएमा कुनै पनि गर्भावस्थामा गर्भपतन गर्न सकिन्छ, तर गर्भको भ्रुणको लिंगको पहिचान गरी गर्भपतन गर्न र गराउन पाइदैन । साथै भ्रुणको पहिचान गर्ने एम्नीयोसिन्टेसिस एक किसिमको जाँच गर्नु पनि अपराध हो ।
धनगढीस्थित एक प्रतिष्ठित शैक्षिक संस्थाकी शिक्षिका सुरभीले आफूले पहिलो सन्तान छोरी जन्माएपछि दोस्रो जन्माउने चाहना गरेकी थिइनन् । तर परिवारबाट एउटा छोरा त नभई हँुदैन भन्ने दबाब आयो । “छोरा छोरीमा आमाको हक छ भन्ने त कानुन मात्र हो, यतिसम्मकी कति सन्तान जन्माउने भन्ने हक पनि आमासँगै हुन्छ भन्छन्, तर व्यवहारमा त्यस्तो हुँदैन । मेरो परिवारले एउटा छोरा चाहियो भनेपछि म फेरी गर्भवती भएँ । अनी चार महिनाको गर्भ भएपछि पलिया गएर डा.कपूरसँग परीक्षण गरियो, मेरो पेटमा छोरा रहेको बताइयो,’ उनले भनिन् ।
सदूरपश्चिममा पहिलो सन्तान छोरी जन्माइसकेकाहरुले दोश्रो सन्तान छोराको आशमा गर्भमा छोरी छ भने गर्भपतन गर्ने संस्कार विकसित भइरहेको छ । सुदूरपश्चिमका पहाडी जिल्लाहरुबाट पनि दिनहुँ महिलाहरु गर्भजाँच गराउन धनगढी आई एक दुईदिन आफन्तकोमा बसी चिकित्सकसँग भेटघाटको योजना बनाउँछन र पलिया पुग्दछन् । यतीमात्र होइन राजधानीमा बसोबास गरिरहेका मानिसहरुसमेत गर्भ परीक्षण गर्न धनगढी फर्किएका प्रशस्त उदाहरण छन् ।
सुदूरपश्चिममा रहेर लामो समयसम्म महिलामैत्री पत्रकारिता गरिरहेकी लोग्शरी कुँवरको अनुभवमा पलिया जाने परिवार अलि निम्न आर्थिक हैसियत भएकाहरु मात्र हुन् । शहरका धनाढ्य तथा आफूलाई महिला अधिकारकर्मी भनेर चिनाउने महिलाहरु त झन महंगो पैसा तिरेर धनगढीमै गर्भमा रहेको भ्रुण परीक्षण गरी छोरी भएमा गर्भपात गरिरहेका छन् । यसका लागि उनीहरु नाम चलेका डाक्टरहरुको सम्पर्कमा पुग्दछन्, जुन भेटको तारतम्य भने अस्पतालका स्टाफ नर्सहरुले गर्दछन् ।
‘गर्भपतन भनेको त अनावश्यक गर्भ रहेमा र त्यसको खतरा न्युन गर्नका लागि ल्याइएको व्यवस्थामात्र हो, यहाँ त छोरीलाई अनावश्यक भनेर पेटभित्रै मारिरहेका छन्,’ कुँवर भन्छिन्, ‘पलिया त नेपाली चेलीहरुको जन्मनु अगावैै बध गर्ने आधिकारिक बधशाला हो । यहाँ दिनहुँ दर्जनौं महिला भ्रुणको पहिचान गरी हत्या गरिन्छ । यसमा हाम्रो कुनै सरकारी निकाय उत्तरदायी छ न त समाजको मानसिकता बदलिएको छ ।’
आफूले बुझ्ने बेलादेखि नै यो कुरीति रहे पनि आफू मुकदर्शकमात्र बनिरहेको तीतो यथार्थ एनपिस अर्वाड २०१६ की नेपाल बिजेता बसन्ती चौधरीसँग छ । ‘छोरा राख्ने की छोरी भन्ने कुरा मानसिकतामा भर पर्ने कुरा हा, अहिले पनि हाम्रो समाजमा छोरी जन्मिदा खेरी परिवारको नाक खुम्चिन्छ, पहिलो सन्तान छोरी भएपनि चित्त बुझाएका बाबुआमा दोस्रो सन्तान कुनै पनि हालतमा छोरा नै होस् भन्ने चाहन्छन्, यसकारण पलिया जानु सबैको संस्कार बनिसकेको छ । जति धेरै वर्षहरु बितिरहेका छन्, यो समस्या त्यति नै बढिरहेको छ ।’
कैलालीमात्र होइन, यो समस्या पूरै नेपालको हो । धनगढी त भारतको खुला सिमानाको चपेटामा छ र त्यहाँका मानिसमा गर्भपतन गर्नलाई कुनै लाज वा डर लाग्दैन । न त कसैले रोकतोक गर्छ न त कसैले उजुरी आपत्ति नै । गर्भपतन गर्नु कतिपयका लागि बाध्यता बनेको छ भने कतिपयको फस्टाउँदो व्यवसाय । मानिसहरुले यसलाई दिनप्रतिदिन अभ्यस्त बनाइरहेको परिप्रेक्ष्यमा हाम्रो देशमा छोरीहरुको भविश्य के होला ?
Abortion in Nepal