समाज

जितिया पर्व आजबाट सुरु, यस्तो छ महत्व

जितिया पर्व आजबाट सुरु, यस्तो छ महत्व

काठमाडौं । तराईका थारु, मैथिल, भोजपुरी समुदायका महिलाहरुको महान पर्व जितिया आजदेखि विधिपूर्वक सुरु भएको छ ।

आजबाट सुरु भएको पर्व ३ दिनसम्म मनाउने गरिन्छ । विवाहित महिलाहरुले आज विहान नदी, कुवा तथा पोखरीमा स्नान गरी चोखो बस्त्र पहिरेर पर्व सुरु गरेका छन् ।
व्रत बस्नुअघि बेलुका उनीहरुले घिरौंलाको पातमा भगवान जितमाहन र दिवङ्गत पितृलाई प्रसाद चढाइ पुजा सुरु गर्छन् । त्यसपछि सुर्योदय हुनुपूर्व विशेषगरी माछा, दही, चिउरा, ओल लगायतको परिकार रहेको ओटगन खाने गर्छन् । भोलि अष्टमीका दिन चराचुरुङ्गी कराउनु अगावै सुर्य उदाउनु पूर्व ओटगन खाएर सुरु गरिएको व्रतमा ब्रतालुहरु दिनभर, रातभर उपवास बस्ने गर्दछन् ।

त्यसको भोलिपल्ट पर्सी विहान सबेरै नुहाईधुवाई गरेर चोखोनिधो भई जीतमहानको पुजा गरेर कथा सुन्ने गरिन्छ । पुजा र कथासंगै जितिया पर्व सम्पन्न हुने गर्दछ । माइतमा भेला भएका विवाहित महिलाले नाचगान गरेर रमाइलो गर्ने चलन पनि रहेको छ ।

सन्तानको दीर्घ जीवन, पुत्रप्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व समेत रहेको छ । राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जितमाहान नामाकरण गरी राजाको सम्झनामा उपवास बसेर यो व्रत सुरु भएको पौराणिक कथन छ ।

विशेष