समाज

३५ लाख फिरौती माग्दै दाजुले गरे भाइ अपहरण

३५ लाख फिरौती माग्दै दाजुले गरे भाइ अपहरण

स्याङजा । स्याङ्जाको गल्याङ नगरपालिकामा दाजुले भाइ अपहरण गरी ३५ लाख फिरौती मागेका छन् । गल्याङ नगरपालिका–२ का ४० वर्षीय मोबिनद्दिन मियाँले भाइ जनरुद्दिनलाई अपहरण गरी फिरौती माग्दै कुटपिट गरेका हुन् । मोहबिनद्दिन बुटवल उपमहानगरपालिका–५ बस्ने ३८ वर्षीय जनरुद्दिनको कान्छा काकाको छोरा भएको प्रहरीले जनाएको छ ।

अपहरण गरी फिरौती माग्ने मोहबिनद्दिनसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । मियाँसँगै कालीगण्डकी गाउँपालिका–६ का २४ वर्षीय सुन्दरप्रसाद अधिकारी र सन्तोष श्रेष्ठ रहेका छन् । अपहरणकारीले चप्पल तथा जुत्ता व्यापारी मियाँलाई अपहरण गरी फिरौती माग्दै कुटपिट गरी घाइते बनाएका थिए । घाइते भएका जनुरुद्दिन मियाँले आफ्नो स्वास्थ्य खराब भएको र अस्पताल पु-याएर औषधि सेवन गर्न आग्रह गर्दै उपचारपछि मागेको रकम दिने बताएपछि अपहरणकारीले नै गल्याङ सामुदायिक अस्पतालमा उपचारका लागि लगेका थिए ।

घाइते अवस्थामा रहेका जनुरुद्दिन मियाँले चिकित्सकलाई आफूलाई अपहरणमा परी कुटपिट गरी घाइते बनाएको भन्दै प्रहरीलाई खबर गरिदिन कागजमा लेखेर अनुरोध गरेका थिए । पीडित जनुरुद्दिनले अपरणकारीको आँखा छली नर्सको पेन गोप्य रूपमा मागेर शौचालय गई लेखेको कागज चिकित्सकलाई दिएपछि अस्पतालले प्रहरीलाई खबर गरेका थिए । कुटपिटबाट गम्भीर घााइते भएका मियाँले अस्पतालमा लैजान आग्रह गर्दै फिरौती रकम दिन्छु भनेपछि मात्र अपहरणकारीले उपचारका लागि अस्पताल लगेको मियाँको भनाइ छ ।

अस्पतालको सूचनाको आधारमा गल्याङ अस्पतालबाट मियाँलाई अपहरणमुक्त गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई वडा प्रहरी कार्यालय वालिङमा राखिएको छ । प्रहरीले पीडित मियाँको बा८च ३५६२ नम्बरको कार र उनकै कारभित्र अपहरणकारीको कालो झोलाभित्र तीनवटा खुकुरी, कालो रङको फलामको पन्चिङ १ थान, ड्रिल मेसिनको ड्रिपजस्तो देखिने फलामको ६ इन्च लम्बाइको ड्रिप १ थान फेला परेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरीनिरीक्षक चिनकपुर गुरुङले जानकारी दिए ।

अनुसन्धानका क्रममा अपहराणकारी सुन्दरप्रसाद अधिकारीको मोबाइलमा घाइते जनुरुद्दिन मियाँलाई अपहरण गरी बन्दक बनाई बाँधी कुटपिट गरी फिरौती माग गरेको भिडियो रेकर्ड फेला परेको प्रहरीले जनाएको छ । अपहरणकारीले प्रयोग गरेको लु१७प ९४३१ नम्बरको साइन, र लु२२प १४१२ नम्बरको पल्सर मोटरसाइकलसमेत प्रहरी नियन्त्रणमा छ ।

विशेष