मनोरञ्जन

उदण्ड रेखा थापा : पत्रकार कुट्नेदेखि नायकहरुको हुर्मत लिनेसम्म

मञ्जु मिश्र

उदण्ड रेखा थापा : पत्रकार कुट्नेदेखि नायकहरुको हुर्मत लिनेसम्म
काली भन्ने चलचित्र रिलिज भएको केही दिन मात्र भएको थियो । रेखा थापा र नायक बिराज भट्टबीच मुख छाडाछाड नै भयो । उनले बिराजलाई ‘मरेको कुकुर’ र आफूलाई बाघको संज्ञा दिएकी थिइन् । जसको जवाफमा बिराजले भनेका थिए, ‘रेखाको भाषा अनपढको जस्तो छ, म अनपढ भनेर शिक्षाको बेइज्जत गर्न चाहँदिन । उनी एउटा संस्कार नभएको कलाकार हुन् । नेपालमा रेखा जस्ता असभ्य कलाकार नै नजन्मिउन् ।’
 
रेखाले आफैले मौका दिएर बनाएका ‘हिम्मत’ नायक बिराज रेखासँगको विवादपछि नेपाली चलचित्रबाट पलायन जस्तै छन् । उनी अहिले भारतको बिहारमा निकै लोकप्रिय भोजपुरी सिनेमामा चम्किरहेका छन् ।
 
रेखाको रिस यतिसम्म चरम छ की यहाँहरुलाई एउटा घटना स्मरण होला, यो केही वर्ष अगाडिको गाईजात्रे प्रस्तुतिको हो । कुरा २०६९ साल साउन १९ गते शुक्रबार प्रकाशित सौर्य दैनिक पत्रिकाका पत्रकार चीरञ्जीवी पौडेलले लेखेको ‘रेखा थापाको मिनिस्र्कटको रहस्य’ भन्ने चुट्किलामूलक लेखको हो । जुन पढेपछि उनको रिसको सिमाना रहेन र सौर्य दैनिकको कार्यलयमा नै गएर चीरञ्जीवीलाई थर्काइनन् मात्र चढ्याम्म चड्काइन् पनि ।
 
रिसले आगो भएकी रेखाले चीरञ्जीवी पौडेललाई गालामा चड्कन हानेको कुरा आफैले फैलाएकी थिइन् । पछि एक अनलाइन पत्रिकामा अन्तर्वार्ता दिँदै पत्रकार पौडेलले रेखालाई आफूले पनि मौका मिलाएर गालामा नै पड्काइदिने उद्घोष गरेका थिए । तर चीरञ्जीवीले उनलाई कहिले चढ्काए, कहीँ समाचार सुन्न पाइएन ।
 
उक्त चुट्किलाका कारण लज्जित बनेका उनका श्रीमान् निर्माता छबीराज ओझा र रिसले आगो बनेकी नायिका रेखा थापाको वैवाहिक सम्बन्ध पनि धेरै समय टिक्न सकेन । अहिले रेखा एकल जीवन बिताइरहेकी छिन् भने ५० वर्ष कटिसकेका छबीराज ओझा नायिका शिल्पा पोखरेलसँगको रोमान्समा छन् ।
 
रेखालाई विश्वासै गर्न नसकिने भनेर उनको आलोचना नै गरिन्छ । यतिमात्र होइन नयाँ नयाँ केटाहरुलाई नायक बनाउने र अत्यन्त नजिक भइहाल्ने अनि सानो सानो कुरामा झगडा गरेर मुख नै नर्हेने उनको बानी नै हो । उनको यही बानीले बिराजदेखि निखिल उप्रेतीसम्म हैरान भइसकेका छन् । खास कुरा के हो भने रेखा आफ्नो चलचित्रमा जसलाई मौका दिन्छिन् उसको प्रतिभाको कदर गर्नुको साटो मैले नै उसको जिन्दगी बनाइदिएको हो भनेर खुलेआम प्रचार गर्छिन् । उस्तै परे धम्की पनि दिन छाड्दिनन् । यसपछि ती नायकहरु आफ्नो बाटो रोज्छन् भने रेखा थापा अर्को शिकारतर्फ ।
 
कुरा यतिसम्म पुग्यो कि हिम्मतवाली मार्फत डेब्यु गरेका नायक सुदर्शन गौतमसँग विवाह नै गर्दैछु भनेर हल्ला पिटाउन पनि उनी पछि परिनन् । सुदर्शन पनि रेखाले आफूलाई धेरै सम्मान र खुशी दिएको तर्क गर्दथे । दुवै हात नभएका सुदर्शन रेखा जस्ती चर्चित नायिकालाई पाएर खुब गर्व महसुस गर्दथे । तर उनको गर्व पनि लामो समयसम्म टिक्न सकेन । पछि रेखा आफैले यो हल्ला चलचित्र हिम्मतवालीलाई प्रमोसन गर्नमात्र चलाएको भनी प्रष्टीकरण दिइन् । रेखाको नक्कली प्रेममा डुबेका सुदर्शनको होस यो स्पष्टीकरण पछि मात्र खुल्यो ।
 
नायक निखिल उप्रेतीसँग भने रेखाको अहिले पनि पानी बाराबार नै छ । त्यस्तै पानी बाराबार भएका नायक आर्यन सिग्देल भने झण्डै ९ वर्षपछि रेखा फिल्म्स व्यानरमा बनेको रुद्रप्रिया चलचित्रमा उनै रेखासँग पुनरागमन गर्दैछन् । मेरो सिनेमामा चलचित्र खेल्नेको म जिन्दगी नै बनाइदिन्छु भन्ने ठूलो अहम र भ्रम बोकेकी रेखा थापा आफू भने निर्माता छबीराज ओझाले बनाइदिएको जिन्दगीको ब्याज खाइरहेकी छिन् ।
 
आलोचकहरु के पनि भन्छन् भने रेखाले छबी ओझा जस्तो महिलाको खेल खेल्न सिपालु खेलाडीलाई यसरी खेलाइदिइन् कि निर्माता ओझा झण्डै पर्दा पछाडि परिसकेका छन् । रेखाको सिनेमा हिट हुन् या नहुन् रेखा थापा आफू भने सधै हिट नै हुन्छिन् । यदि सिनेमामा भनेजस्तो चर्चा चलेन भने राजनीतिमा पनि अभिनय गर्न पुग्छिन् उनी । उनी एकपटक माओवादीमा गइन्, त्यहाँ आफ्नो स्वार्थ पूरा हुन नसकेपछि चुपचाप बसिन् । पछि गइन् कमल थापा नेतृत्वको राप्रपामा । उनले कमल थापाको साथ पनि अहिले छाडिसकेकी छन् ।
 
राजनीतिको एउटा सिद्दान्त हुन्छ, विचार र काम गर्ने पद्धति हुन्छ र यस कुरामा रेखा थापा जति जीरो सायदै कोही नहोला । किनभने सिनेमामा औँला उठाएर समाजलाई गाली गर्न जति सजिलो छ, राजनीतिमा होमिएर देश बनाउनलाई उति नै अप्ठेरो । त्यसपछि उनले भन्न थालिन्, ‘राजनीति मेरो बसको कुरो होइन ।’
 
यही कात्तिक २ गते उनले निर्माण गरेको रुद्रप्रिया प्रदर्शन हुँदैछ । रुद्रपियाले कति दर्शक पाउला त्यो भने हेर्न बाँकी छ । ‘किस्मत’, ‘कसले चो¥यो मेरो मन’ चलचित्रमा उनले नायक आर्यन सिग्देलसँग रोमान्स गरेका थिए । उनीहरुको रोमान्सलाई दर्शकले साथ पनि दिए । तर अहिलेको पछिल्लो रोमान्सलाई कसरी लिन्छन्, हेर्न बाँकी छ ।
 
त्यसो त हरेक चलचित्रमा उनी आफै नायकधर्म निभाउँछिन् जसले गर्दा हिरोहरु संधै नै छायाँमा पर्ने गर्दछन् । उनकै उमेरका वा उनीसँगै पर्दामा देखिएका नायिकाहरु अरुणिमा लम्साल, उषा पौडेल, झरना बज्राचार्य आदि नायिकाहरु ओझेलमा परिरहेका बेला उनी भने अहिले पनि ‘हिट’ नै छन् । बेलाबेलामा आइरहने उनका झगडाका किस्सा, प्रेमका चर्चा र हावादारी राजनीतिका कुराले उनी अझै केही समय नेपाली सिनेजगतमा छाइरहने छिन् ।





विशेष