निशानको समर्थनमा उर्लियो मानवसागर
विराटनगर। पहिलो पटक नेपालमा आयोजना गरिएको ‘नेपाल आइडलमा टप ३ मा पुग्न सफल मोरङ उर्लाबारीका गायक निशान भट्टराईलाई गृहनगरमा भव्य स्वागत गरिएको छ ।
मंगलबार गृहनगर आइपुगेका निशानलाई हजारौँ समर्थकहरूले भव्य स्वागत गरेका हुन् । ‘निशान भट्टराई जिताऔँ अभियान’ले उर्लाबारी चोकमा आयोजना गरेको स्वागत कार्यक्रममा निशानले गीत प्रस्तुत गर्दै भोट मागेका छन् । पूर्वबाट नेपाल आइडल बनाउन आह्वान गर्दै उनले आफूलाई जतिसक्दो बढी भोट गरी जिताउन अपिल गरेका छन् । गृहनगरमा आउँदा आफूले अत्यधिक माया र सम्मान पाएको बताउँदै उनले सबैलाई धन्यवाद दिए । आफूलाई नेपाल आइडल बनाउन अपिल गर्दै उनले आफ्नो खुसी उर्लाबारीवासी माझ बाँडेका थिए । उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्गबहादुर फागोले निशानलाई स्वागत गर्दै नगरवासीहरूलाई भोटका लागि आह्वान गरे । नेपाल आइडलका नाममा सामाजिक सञ्जालमा फेक आईडी बनाएर जातीय सद्भाव भड्काउने काम भइरहेको भन्दै त्यसप्रति सचेत रहन पनि उनले आग्रह गरेका छन् ।
निशानले मंगलबारै विराटनगर, इटहरी, खोेर्साने, पथरी, उर्लाबारी– ३ मंगलबारे र उर्लाबारी– ४ आइतबारेमा पनि हजारौँ संख्यामा समर्थक तथा शुभेच्छुकहरूसँग भेटघाट गरेका छन् । उनको स्वागतमा ठूलो संख्यामा उनका शुभचिन्तक तथा आफन्तसमेत पुगेका थिए । युवापुस्तामा निशानको ‘क्रेज’ निकै देखिएको थियो । विराटनगर महानगरका प्रमुख भीम पराजुलीले पनि निशान पूर्वका शान भएकाले सबैले एकजुट भएर भोट गरी जिताउनुपर्ने बताएका छन् । उनले महानगरवासीहरूलाई निशानका लागि भोटको आह्वान गर्दै आफ्नोतर्फबाट पनि भोट गर्ने प्रतिबद्धता जनाएका छन् । दर्शकहरूको क्रेजलाई थाम्न नसकेर निशानलाई प्रहरी कार्यालय पुर्याइएको थियो। प्रहरीको सहयोगमा उनलाई गाडीमा हालेर उर्लाबारीतर्फ ल्याइएको थियो ।