लुम्बिनी बौद्ध विश्वविद्यालयमा पढ्छन् यी मुस्लिम विद्यार्थीहरु (भिडियोसहित)
केही दिनअघि गरिएको लुम्बिनी भ्रमणका क्रममा हामी लुम्बिनी बौद्ध विश्वविद्यालयमा पनि गएका थियौं ।
त्यहाँ गएपछि हामीले के थाहा पायौं भने बौद्ध विश्वविद्यालयमा मुस्लिम विद्यार्थीहरु पनि अध्ययन गरिरहेका छन् भन्ने । यो सुनेर हामी आश्चर्यचकित भयौं । उनीहरुसँग कुरा गर्ने हामीहरुमा रहर पलायो ।
तर, हामी पुग्दा उनीहरु विश्वविद्यालय परिसरमा थिएनन् । परीक्षा नजिकिएकाले उनीहरुका लागि केही दिन बिदा दिइएको रहेछ । हामीले विश्वविद्यालय प्रशासनलाई उनीहरुलाई बोलाउन आग्रह ग¥यौं । हाम्रो आग्रहलाई विश्वविद्यालय प्रशासनले सकारात्मकरुपमा लियो र केहीबेरमै हामीहरु माझ उपलब्ध भए अब्दुल्लाह खान, याज अहमद खान र रियाज अहमद खान ।
स्नातक तह पहिलो वर्षका विद्यार्थी हुन् उनीहरु । उनीहरुका कुरा सुन्दा लाग्थ्यो, उनीहरुमा लुम्बिनीमा जन्मनुको धेरै ठूलो गर्व रहेछ । भगवान गौतम बुद्ध जन्मेको पवित्र भूमिमा आफूहरुको पनि जन्म भएकोमा उनीहरुमा ठूलै गर्व रहेको पायौं हामीले । ‘हामी लुम्बिनीको काखमा जन्म्यौं, हुर्कियौं, यसमा हामीलाई गर्व छ, त्यसैले पनि हामी भगवान बुद्धले देखाएको बाटोमा अघि बढ्न खोजेका हौं,’ उनीहरुको भनाइ थियो ।
लुम्बिनी क्षेत्रमा मुस्लिम समुदायको संख्या अत्याधिक छ । तर, उनीहरुमा भने धर्ममा भन्दा बुद्धले दिएको ज्ञानले बढी तानेको रहेछ । ‘उनीहरु भन्छन्, ‘हामी मुस्लिम हौं, तर सानैदेखि बुद्धिजमलाई अध्ययन गर्ने अवसर पायौं, त्यसैले बुद्धिजमबारे बुझेरै हामीले बौद्ध विश्वविद्यालयमा पढेका हौं, हामी भन्छौं बुद्धिजम सबैले पढ्नु पर्छ, सबै धर्मलाई मानेर अघि बढ्ने हो भने संसारमा द्वन्द्व भन्ने कुरा कहीँ पनि हुँदैन ।’
Lumbini University Muslim studying Buddhism