खेल

मुक्केबाज सुशीलले पाए नागरिकता

मुक्केबाज सुशीलले पाए नागरिकता

काठमाडौं । नागरिकता नभएका कारण कठिनाइ भोगिरहेका राष्ट्रिय बक्सिङ खेलाडी सुशील थापाले बुधबार नागरिकता पाएका छन् ।

सुशीलका पिता शिव थापामगर स्वर्गीय र आमा शान्तिको नागरिकता नभएका कारण २३ वर्षीय सुशीललाई नागरिकता पाउन समस्या भइरहेको थियो । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिव केशवकुमार विष्टले काठमाडौंको बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा गइ सनाखत गरिदिएपछि सुशीललाई नागरिकता पाउन सहज भएको हो ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुशीललाई वंशज नागरिकता हस्तान्तरण गरेका थिए । सुशील पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदअन्तर्गत् पुरुष ४९ केजीका स्वर्णपदक विजेता हुन् ।

राखेप सदस्यसचिव विष्टले देशको गौरव र सम्भावना बोकेको खेलाडीले नागरिकता पाउनु खुसीको कुरा भएको भन्दै जिल्ला प्रशासन कार्यालयले खेलाडीलाई न्याय गरेको बताए ।

सुशीलले नागरिकताकै कारण पासपोर्ट नबनेपछि चार अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउँदा आफू निराश हुनुपरेको स्मरण गर्दै नागरिकता पाएपछि आफूले जिन्दगीकै स्वर्णपदक जितेको महसुस गरेको प्रतिक्रिया दिए ।

विशेष