दशैमा थपिएनन् नयाँ बस, २१ लाख यात्रु बाहिरिने अनुमान
काठमाडौं । दसैंको अवसरमा दैनिक ६ हजार सार्वजनिक यातायातले यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्याउने भएका छन् ।
दसैंको समयमा धेरै मानिस चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक ६ हजारभन्दा धेरै सवारीसाधनले सेवा दिन लागेका हुन् । हरेक वर्ष चाडपर्वलाई लक्षित गरी सार्वजनिक नम्बर प्लेटका सवारीसाधन थप गर्ने गरे पनि यो वर्ष भने कुनै नयाँ बस थप भएको छैन ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बैंकको महँगो ब्याज र बाटोको दुरवस्थाका कारण नयाँ बस थप गर्न नसकेको बताए । महासंघले गत वर्षमात्र ठूलो संख्यामा सार्वजनिक यातायात थप गरेको थियो । यसका अलावा दसैंमा पर्यटकीय बस, निजी सवारीसाधनमा समेत यात्रु घर जानेछन् ।
यो वर्षमात्र २०–२१ लाख मानिस दसैं मनाउनका लागि घर जाने यातायात व्यवस्था विभागको अनुमान रहेको छ । विभागका प्रवक्ता डा टोकराज पाण्डे १५–१६ लाख मानिस सार्वजनिक सवारीसाधनमा तथा ५–६ लाख मानिस निजी सवारीसाधनमा घर जाने बताउँछन् ।
हाल काठमाडौँको नयाँ बसपार्क, गौशाला, कोटेश्वर, पुरानो बसपार्क, कलंकी लगायतका स्थानबाट लामो तथा छोटो दुरीका सवारीसाधन छुट्ने गर्छन् । दसैंलाई लक्षित गरेर सरकारले भदौ २७ गतेदेखि लामो तथा मझौला रुटको टिकट बुकिङ खुला गरिसकेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले दसैंको समयमा उपत्यका भित्रिने तथा बाहिरिने ४ वटा नाकाबाट दसैंको समयमा दैनिक एक लाखभन्दा बढी मानिस बाहिरिने बताए ।
महाशाखा, विभाग लगायत विभिन्न संघसंस्थाको सहयोगमा दसैंमा यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुग्न सहज होस् भन्ने उद्देश्यले उपत्यकाका १२ स्थानमा यात्रु सहायता कक्षसमेत स्थापना गरिएको छ ।