मनोरञ्जन

केटीको चक्करबाट बर्बाद भएका यी बाबाहरु, यस्तो छ उनीहरुको नालीबेली

केटीको चक्करबाट बर्बाद भएका यी बाबाहरु, यस्तो छ उनीहरुको नालीबेली

काठमाडौं । भारतमा बाबालाई ईश्वरकै रूपमा लिनेहरूको संख्या निकै ठूलो छ तर बाहिर धर्मगुरु बताउने बाबाहरू केटीको चक्करमा बर्बाद भएका कैयौँ घटना सतहमा आएका छन् । तमाम भौतिक सुख त्यागेर जोगी जीवन बिताउने बाबाका आधुनिक अवतार कुनै बिजनेस टाइकुनका भन्दा कम छैनन् ।

उनीहरू राजसी ठाँटमा सुखसयल र मोजमस्तबीच रमाइरहेको पाइन्छ । रमाइलो त के भने पछिल्लो समयमा बाबाहरू व्यापार–व्यवसायको ठूलै साम्राज्य हाँक्न थालेका छन् ।

मानव कल्याणका लागि व्यापार–व्यवसायको साम्राज्य निर्माण एवं परोपकारमा त्यसको आम्दानी खर्च गर्ने कुरालाई त जायज नै मान्न सकिएला, तर कतिपय बाबा त्यही आफ्नो बिजनेस र बाबा पदको आवरणमा अनैतिक कर्ममा समेत संलग्न पाइँदै आएका छन् ।

खासगरी भारतीय समाजमा ठूलो धार्मिक साम्राज्य खडा गरेका र समाजमा चर्चामा रहेका बाबाहरू नै सुरा–सुन्दरीहरूमा लहसिएर विवादमा तानिएका पाइन्छन् । अझ रोचक त के छ भने यस्ता कर्मकाण्डी बाबाहरू जेलको हावासमेत खाइरहेका छन् । यस्तै, घटना गत हप्ताको सोमबार प्रमाणित नै भयो । ५० वर्षीय चर्चित बाबा गुरमित रामरहिम सिंह दुई महिलालाई बलात्कार गरेको प्रमाणित भएपछि जेल गए । रामरहिम भारतमा सुन्दरी र यौनसँग जोडिएर बदनाम हुने अनि विवादमा तानिने एक्ला बाबा भने होइनन् ।

बाबा परमानन्द 

उत्तर प्रदेशको बाराबान्कीका बाबा परमानन्द उर्फ रामशंकर तिवारीमाथि लागेको आरोपअनुसार सन्तान दिने नाममा उनी महिलामाथि बलात्कार गर्थे अनि त्यसको भिडियो बनाएर उनीहरूलाई ब्ल्यामेकल गर्दै निरन्तर शारीरिक शोषण गर्थे । बाबा परमानन्दविरुद्ध १२ वटा मुद्दा दर्ता भएका थिए ।

एक पटक बाबाको आश्रमको एउटा कम्प्युटर बिग्रियो । त्यसलाई मर्मत गर्न हार्डवेयर पसलमा पठाइयो । पसलेले कम्प्युटर बनाउने क्रममा आश्रममा तयार पारिएको एउटा अश्लील भिडियो फेला पारे, जसलाई उनले भाइरल बनाइदिए । त्यसपछि पुलिसले बाबाको बारावान्कीस्थित आश्रममा छापा मार्‍यो र त्यहाँबाट अश्लील भिडियोका सिडी तथा अश्लील साहित्यका पुस्तकहरू पनि बरामद भए । पुलिसले परमानन्दलाई २४ मई २०१६ मा गिरफ्तार गर्‍यो । ६५ वर्षीय यी बाबा अहिले लखनउ जेलमा सजाय काटिरहेका छन् ।

आशाराम

सन् १९४१ मा जन्मिएका आशारामले भगवानको खोज गर्ने भन्दै २३ वर्षकै उमेरमा घरबार त्यागेका थिए । यी बाबाको नाममा कैयौं सहरका चौराहको नाम राखिएको थियो । टिभीमा बिहान–बिहानै उनको प्रवचन पनि आउँथ्यो । आशारामले देश विदेशमा ४ सयभन्दा बढी आश्रम निर्माण गरेका छन् । आशाराममाथि उनको आश्रमकी नाबालिकामाथि बलात्कार गरेको घटना बाहिर आयो । आशारामसँगै उनका छोरा नारायण साईं पनि महिलाविरुद्धको उत्पीडनमा दोषी प्रमाणित भए । बलात्कारका दोषी आशाराम १ सेप्टेम्बर २०१३ देखि जोधपुर जेलमा बन्द छन् । उच्च अदालत तथा सर्वोच्च अदालतले उनको जमानत अपिल पनि खारेज गरिदियो । आशारामसँगै उनका छोरा पनि जेलमै छन् ।

भीमानन्द

भीमानन्द आफूलाई भगवानको अवतार बताउँथे । ठाउँ–ठाउँमा धार्मिक प्रवचन दिएर धर्म कर्मको कुरा सिकाउँदै हिँड्ने यी बाबाले त्यस्तो कार्य गरे होलान् भनेर कसैले विश्वास नै गरेका थिएनन् । सबै जना त्यतिबेला आश्चर्यचकित भए जब आफैंलाई ईश्वर बताउने यी बाबाले सेक्स र्‍याकेट चलाएको तथ्य बाहिर आयो । भारतीय समाचार एजेन्सीहरूका अनुसार भीमानन्दको वास्तविक नाम शिवमूरत हो, उनी उत्तरप्रदेशको चित्रकुट निवासी हुन् ।

सन् १९८८ मा उनी दिल्ली पुगेका थिए । भीमानन्दले दिल्लीमा सबैभन्दा पहिले एउटा फाइभ स्टार होटलमा गार्डको जागिर गरे । त्यसपछि मसाज पार्लरमा काम गरे । सन् १९९७ र १९९८ मा उनी वेश्यावृत्तिको आरोपमा पक्राउ परे । जेलबाट छुटेपछि उनले आफ्नो नाम मात्र परिवर्तन गरेनन्, आफूलाई इच्छाधारी सन्त स्वामी भीमानन्द महाराज बताउन थाले । यति त ठीकै थियो, जेल परे पनि उनमा कुनै परिवर्तन आएन, बरु उनी दिल्लीको लाजपत नगरमा सेक्स र्‍याकेट चलाउन थाले ।

फ्रेबुअरी सन् २०१० मा पुलिसले दुई जना एयरहोस्टेजसहित ८ जनालाई सेक्स र्‍याकेट चलाएको आरोपमा गिरफ्तार गर्‍यो । त्यसको तार खोज्दै जाँदा भीमानन्दसँग गएर जोडियो । अनुसन्धानका क्रममा यो तथ्य बाहिर आयो कि उक्त सेक्स र्‍याकेटको मास्टर माइण्ड ३९ वर्षीय शिवमुरत अर्थात् स्वामी भीमानन्द नै हुन् । सर्प नचाउने कलामा निपुर्ण यी बाबाले ६ सयभन्दा बढी महिलालाई यौन व्यवसायमा लगाएका थिए ।

नित्यानन्द

बैग्लोरको बिदारीस्थित अधीनम मठका २९३ औं प्रधान नित्यानन्दको तमिल अभिनेत्री रन्जीथासँगको एमएमएस भाइरल भयो । उनका कैयौं शिष्यले पनि उनीमाथि यौनशोषणको आरोप लगाएका थिए, तर बाबाका तर्फबाट उक्त एमएमएस र अन्य आरोपहरूको खण्डन गरियो । अनुसन्धानका क्रममा नित्यानन्दको कोठाबाट कन्डम तथा गाजा बरामद गरिएको थियो । जुन २०१२ मा उनलाई पक्राउ गरेर जेल पठाइयो । अहिले यी बाबा जेलबाहिर निस्किसकेका छन् । नित्यानन्दविरुद्ध सन् २०१० मा ठगी तथा अश्लील सामग्रीको व्यापार गरेको आरोपमा मुद्दा दर्ता भएको थियो ।

गुरमित रामरहिम सिंह

गुरमित रामरहिम सिंह विश्वभर ५ करोड अनुयायी भएको भनिएको डेरा सच्चा सौदाका प्रमुख हुन् । हरियाणा राज्यको सिरसास्थित डेरा सच्चा सौदाका अन्य विभिन्न ठाउँमा पनि शाखा छन् । दुई महिलामाथि बलात्कारको आरोप प्रमाणित भएपछि पंचकुलास्थित सीबीआई अदालतले उनलाई २० वर्ष जेल सजाय तोकेको थियो । २८ अगस्ट २०१७ देखि उनी जेलजीवन बिताइरहेका छन् । आफूलाई धार्मिक गुरु, सामाजिक लिडर, अभिनेता, निर्देशक, गीतकार तथा रकस्टार बताउने यी बाबाविरुद्ध सन् २००२ मै सिरसास्थित डेरामा साध्वीविरुद्ध बलात्कार गरेको आरोप लागेको थियो जुन १५ वर्षपछि प्रमाणित भएको हो ।

अर्का विवादित बाबा

विवादित तान्त्रिक चन्द्रास्वामी राजस्थान निवासी हुन् । सन् १९४८ मा जन्मिएका चन्द्रास्वामीको वास्तविक नाम नेमीचन्द जैन थियो । उनको सिंगो जीवन विवादकै घेरामा छ । नेतादेखि अभिनेतासम्ममा उनले आफ्नो जादु चलाए ।

राजनेताहरूमाथि चन्द्रास्वामीजति प्रभाव पार्ने सायदै अन्य कुनै ज्योतिष वा धर्मगुरु होलान् । चन्द्रास्वामी कतिसम्म प्रभावशाली थिए भने नरसिंहा राव भारतको प्रधानमन्त्री हुँदा उनी समय नै नलिई उनीसँग भेटघाट गर्न सक्थे ।

चन्द्रास्वामी तान्त्रिक बन्नुपूर्व राजनीतिमा थिए । रावले स्वामीलाई हैदरावाद युवा कांग्रेसको महासचिव बनाएका थिए । केही दिनपछि चन्द्रास्वामी विहार–नेपाल सीमामा तान्त्रिक साधनाका लागि अमरमुनि नामक एक साधुको चेला बने ।

राजीव गान्धीको हत्याको केसमा उनीमाथि हत्यारालाई वित्तीय सहयोग गरेको आरोप लागेको थियो । केन्द्र सरकारले उक्त हत्याकाण्डको अनुसन्धानका लागि मिलाप चन्द्र जैन आयोग बनाएको थियो, जसले लगभग ६ सय पृष्ठको आफ्नो रिपोर्टमा चन्द्रास्वामी राजीव गान्धीको हत्याको षड्यन्त्रकारी शिवरासनको सहयोगी सावित गर्ने प्रयास गरेको थियो । यद्यपि उक्त रिपोर्टलाई भारतको कुनै पनि अदालतले विश्वसनीय मानेनन् ।

चन्द्रास्वामीको सम्बन्ध पूर्वविदेशमन्त्री नटवरसिंह, बेलायतकी पूर्व प्रधानमन्त्री मारगेट थ्याचर, अमेरिकाका पूर्वराष्ट्रपति रोनाल्ड रेगनकी श्रीमती तथा हलिउड स्टार एलिजावेथ ट्रेलरसँग पनि रहेको बताइन्छ ।

नटवर सिंहका अनुसार एक पटक थ्याचरले पनि तान्त्रिक चन्द्रास्वामीसँग भेटघाट गरेकी थिइन्, त्यतिबेला उनले थ्याचर बेलायतको प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेको बताइन्छ । चन्द्रास्वामीलाई विदेशी मुद्दा अपचलन गरेको केसमा सन् २००९ मा अदालतले ९ करोड रुपैयाँ जरिवाना तिराएको थियो । लन्डनका एक व्यापारीलाई ठगेको आरोपमा उनी सन् १९९६ मा पक्राउसमेत परेका थिए । चन्द्रास्वामीको मे २०१७ मा ६९ वर्षको उमेरमा मृत्यु भैसकेको छ ।

किसिङ बाबा

केही दिनपहिले सोसल मिडियाका भारतीय प्रयोगकर्ताहरूमाझ एक बाबाले एउटी युवतीसँग चुम्बन गरिरहेको तस्बिर भाइरल भयो, जसमा हाइवेमा बाबा र युवती देखिन्छन् । उक्त तस्बिर भाइरल भएपछि तस्बिरमा देखिएकी युवतीले प्रहरी समक्ष छिमेकी युवाविरुद्ध उजुरी हालेकी थिइन् । आफ्नो उजुरीमा उनले ती युवाले आफ्नो बदनामी गर्न खोजिरहेको आरोप लगाएकी छिन् ।

सोसल मिडियामा बाबाको नाम हरमेल दास बताइएको छ । यी बाबाले हरिद्वारको सप्तऋषि इलाकामा रहेको हरिहर आश्रममा निकै समय व्यतीत गरेका थिए । सोसल मिडियामा तस्बिर भाइरल भएपछि दिल्लीस्थित आश्रमबाट बाबा हरमेल दासलाई निष्कासन गरिएको छ । भारतीय मिडियाहरूकाअनुसार आश्रमको बदनामी हुने डरले उनलाई निष्कासन गरिएको हो ।

सामाजिक सञ्जालमा युवतीले भारतीय प्रहरी समक्ष गरेको उजुरीको कपी पनि भाइरल भएको छ, जसमा युवतीले आफ्नो ठेगाना नयाँदिल्ली लेखेकी छिन् । रिपोर्टहरूका अनुसार युवतीले हौज काजी पुलिस थानाको अपराध शाखामा ३० अगष्टमा उजुरी हालेकी हुन् । उनले आफ्नो उजुरीमा गलत तस्बिर राखेर आफ्नो बदनामी गरिएको दाबी गरेकी छिन् । यता बाबाले भने आफूलाई फसाउन कसैले षड्यन्त्र गरेको दाबी गरेका छन्, तर युवतीले आफूले बाबालाई चिन्ने कुरा भने स्वीकार गरेको बताइएको छ

साप्ताहिक

विशेष