अन्तराष्ट्रियस्तरको खेल मैदानको पुननिर्माण सम्पन्न
काठमाडौं । जङ्गी अड्डा परिसरमा इपिडियम सेन्थेटिक रबर ट्रयाक र प्याराफिटसहित पुननिर्माण गरिएको अन्तराष्ट्रियस्तरको खेल मैदानको प्रधान सेनापति राजेन्द्र क्षेत्रीले समुद्घाटन गरेका छन् ।
पुननिर्माण गरिएको खेल मैदानमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको फुटबल, एथलेटिक्स, हाईजम्प, पोलभर्ट, लङजम्प लगायतका खेलहरु सञ्चालन गर्न सकिने बताइएको छ । २०७३ साल मंसिर ८ गते शिलान्यास भएको उक्त खेल मैदान करिब १० महिनाको अवधिमा सम्पन्न भएको हो ।
उद्घाटन सँगै उनले एक विशेष समारोहका बिच प्रधान सेनापति ट्रफि खेलकुद प्रतियोगिता–२०७४ को समापन पनि गरेका छन् । समापन कार्यक्रममा उनले विभिन्न खेलका विजेता खेलाडीहरु तथा प्रशिक्षकलाई ट्रफि, नगद, प्रमाण पत्र र पदक प्रदान गरे । खेलकुद प्रतियोगिता भाद्र २ गतेबाट सञ्चालन भएको थियो ।
समापन कार्यक्रममा मन्तव्यमा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक देव कुमार सुवेदीले उत्कृष्ट खेल प्रतिभाहरुको खोजी गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल क्षेत्रमा स्थापित गराउन महत्वपूर्ण बन्दै आएको प्रधान सेनापति खेलकुद प्रतियोगिताले भविश्यमा समेत थप योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
उक्त समापन समारोहमा नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु, रक्षा मन्त्रालयका पदाधिकारीहरु नेपाली सेनाका रथीबृन्द, नेपालस्थित विदेशी कूटनीतिक नियोगका सैनिक सहचारीहरु, नेपाल खेलकुद परिषद्का पदाधिकारीहरु, सञ्चारकर्मीहरु लगायत नेपाली सेनाका अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उपस्थिती रहेको थियो ।
ground re-construction