समाज

नगरपालिकामै छैन प्रहरीचौकी

नगरपालिकामै छैन प्रहरीचौकी

 दैलेख । दैलेखका विभिन्न ११ वटा स्थानीय तहमध्ये चामुण्डा विन्द्रासैनीनगरपालिकामा प्रहरीचौकी नभएपछि सुरक्षा दिन समस्या भएको छ ।   स्थानीय नागरिकको सुरक्षाका लागि प्रहरीचौकी आवश्यक भएको उक्त स्थानमा अहिले स्थानीय निकायको मुख्य केन्द्र बनेपछि झनै आवश्कता खड्किएको छ ।  

यसअघि माथिल्लो कर्णाली आयोजनाको सुरक्षाको लागि पालेतडामा रहेको प्रहरी चौकीले सुरक्षा हेर्ने गरेको थियो ।  अहिले पालेतडाबाट सदरमुकामसम्म पुग्न चार घण्टा लाग्ने गर्दछ । अहिले नगरपालिका निर्माण भएको स्थानको मुख्य केन्द्र भन्दा निकै टाढा अपायकपर्ने स्थानमा प्रहरीचौकी रहेकोले समस्या भएको दैलेख प्रहरीले जानकारी दिएको छ ।

प्रहरी प्रमुख सरोज पौड्यालले चामुण्डा बिन्द्रासैनी नगरपालिकाको लागि इलाका प्रहरीचौकी माग गरेर पठाएको बताए ।  जिल्लामा प्रहरी दरबन्दीसमेत अभाव भएको प्रहरी निरीक्षक एकेन्द्र खड्काले जानकारी दिए ।  जिल्लाभरका विभिन्न स्थानमा १६ वटा मात्र युनिट रहेका छन् । तीन सय ४१ जनाको दरबन्दी रहेको दैलेख प्रहरीमा हाल २७७ जना मात्र रहेको बताइएको छ ।  

जिल्लाभर रहेका तीन लाख जनसंख्याको सुरक्षाको लागि प्रहरी संख्या धेरै न्यून भएकाले यसको व्यवस्थापनका लागि सरकारसँग बारम्बार माग गरेर सर्वदलीय बैठकमार्फत पठाइको सांसद लक्ष्मी पोखरेलले बताए । 

विशेष