मनोरञ्जन

‘मेसिनजस्तो थिएँ, आयुष्मानको आगमन पछि सम्हालिएकी छु’

‘मेसिनजस्तो थिएँ, आयुष्मानको आगमन पछि सम्हालिएकी छु’

काठमाडौं । नायिका प्रियंका कार्की यी दिनहरुमा अभिनय र फिल्मले भन्दा पनि नायक आयुष्मान देशराज जोशीसँगको प्रेम सम्बन्धले चर्चामा छिन् । प्रियंकाले आफूलाई पहिल्यैदेखि कामकाजी नायिकाको रुपमा स्थापित गराउँदै आएकी छिन् । पहिला कामबाट कत्ति पनि बिदा नलिने प्रियंका अहिले बिदा लिन थालेकी छिन् । यसको एकमात्र कारण हो उनको जीवनमा आयुष्मान देशराज जोशीको आगमन ।

आयुष्मानको आगमन पछि जीवनमा आएका परिवर्तनबारे बोल्दै उनले एक अन्तर्वार्तामा भनिन्, ‘पहिला सधैँ काम काम काम भन्थे । अहिले ब्रेक लिन सिकेकी छु । जिन्दगीमा त्यसको महत्व बुझ्न थालेकी छु । बिदा न लिएको धेरै भएको थियो तर अहिले हप्तादिनमा घुम्न गइरहेकी छु । पहिलादेखि अहिलेसम्म मेरो काम नै मेरो खुशी हो । तर, अहिले आएर थाहा भयो की कामबाट ब्रेक लिग्दाको समय पनि रमाइलो हुने रहेछ । जीवनमा कोही हुनु र नहुनुले धेरै फरक पार्ने रहेछ ।’

उनीहरुको सम्बन्धलाई लिएर समाजिक सञ्जालमा धेरै टिप्पणी हुने गर्छन् । नराम्रो भन्ने जमात पनि छन् भने राम्रो भन्नेहरु पनि उत्तिकै छन् । अहिलेको सन्दर्भमा समाजिक सञ्जालमा आउने नराम्रा कुराहरुले आफूलाई त्यत्ति फरक नपर्ने बताउँदै उनले भनिन्, ‘अहिले आफैँमा धेरै परिपक्वता आएको छ ।’

आयुष्मानसँगको सम्बन्धबारे बोल्दै उनले अबको २ ,३ वर्षमा विवाह हुन सक्ने बताइन् । यसका साथै दुईजनाले सँगै फिल्ममा काम चाँडै नै गर्न सक्ने बताइन् । आयुष्मानको कोमल, स्वीट, आदरणीय र धैर्यताको फ्यान भएकी प्रियंका यतिबेला फिल्म ‘छक्का पञ्जा २’ को प्रचारमा व्यस्त छिन् । फिल्म यही असोज ११ गतेबाट देशभर रिलिज हुँदै छ ।

Priyanka karki, Aayushman Joshi

विशेष