समाज

दसैं खर्च जुटाउन जोखिम मोलेर बालुवा निकाल्दै मजदुर

दसैं खर्च जुटाउन जोखिम मोलेर बालुवा निकाल्दै मजदुर

काठमाडौ । ‘चर्को घामको साथसाथै छिन-छिनमा हुने वर्षाको बाबजुत उज्यालो भएदेखी रात नपरुन्जेलसम्म त्रिशुली नदीको भेलसंग पौठेजोरी’, हिजोआज त्रिशुली नदी किनारमा बालुवा निकाल्ने मजदुरहरुको दैनिकि हो यो। दशै तिहार र छठ पर्व नजिकिदै गर्दा दशै खर्च जुटाउनको लागि त्रिशुली नदीको भेलबाट बालुवा निकाल्ने मजदुरहरु नदी किनारमा जताततै भेटिने गरेका छन्। खाली खुट्टा त्रिशुली नदीको बीच भागसम्म पुगेर हातैले बालुवा निकालेर आजकाल मजदुरहरुको दिन वित्ने गरेको छ ।

नदी र खोलाहरुमा मेसिनको प्रयोग गर्न स्थानीय प्रशासनले रोक लगाएसंगै त्रिशुली नदीको भेलसंग पौठेजोरी खेलेर बालुवा निकाल्ने मजदुरको सङ्ख्या ह्वात्तै बढेको छ। त्रिशुली नदिमा बालुवा निकाल्न स्थानीहरु भन्दा धेरै बाहिरी जिल्लाका मजदुरहरु जम्मा भएका हुन्छन ।

हरेक वर्ष बर्षातको समयमा त्रिशुली नदीबाट बालुवा निकाल्नको लागि जाजरकोट, बर्दिया, खोटाङ, उदयपुर, रौतहट, मकवानपुर लगायतका जिल्लाहरुबाट मजदुरहरु आउछन् ।

ठुला चाडपर्वहरु पनि नजिकिएकाले चाडपर्व मनाउने खर्च जुटाउनको लागि नदीमा बालुवा झिक्ने काम गर्न आएको मजदुरहरु बताउँछन्। सिन्धुली जिल्लाबाट बालुवा निकाल्न धादिङको बैरेनी स्थित त्रिशुली नदी किनारमा आएका ध्रुव कुमार खड्काले भने, ‘चाडपर्व आइसकेको छ, घरखर्च जुटाउनको लागि अन्य काम भन्दा यो बालुवा निकाल्ने काममा धेरै कमाइ हुन्छ। त्यसैले हरेक वर्ष दशै अघि हामी त्रिशुलीमा बालुवा निकाल्न आउछौं ।’

मजदुरहरु समुह–समुह बनाएर बालुवा निकाल्ने काम गर्दछन्। एक ट्रिपर बालुवा निकाले बापत ठेकेदारहरुबाट मजदुरले ७ हजार रुपैयासम्म पाउने गरेका छन।

१०(१५ जनाको समुह बनाएर बालुवा निकाल्ने गरेका मजदुरहरुले नदीमा ठुलै भलबाढी आएको दिनमा ४ ट्रिपरसम्म बालुवा निकाल्ने गरेका छन। तर स्थानीय निकाय र जिल्ला विकास समितिले दोहोरो कर लगाएका कारण तथा बालुवा विक्रीमा ठेकेदारहरुको मिलेमतोका कारण मजदुरहरुले निकालेको बालुवा विक्रि नै नभइ लामो समयसम्म थुप्रिनाले मजदुरहरुले समस्या पनि भोग्दै आएका छन् ।

बर्षातको समयमा त्रिशुलीमा बालुवाको मात्रा बढ्छ। बढी बाढी आउने समय जेठ असार साउन भदौ असोजमा बालुवा निकाल्नको मजदुरहरु त्रिशुली नदीमा भेटिन्छन तर जहातही डोजरको प्रयोगले बालुवा उत्खनन गर्दा हातैले बालुवा निकाल्ने मदजुरहरुलाइ समस्या पर्ने गरेको छ ।

उदयपुरका मदन चाम्लिङ राइले भने, ‘वर्षातको समयमा हामी हातैले बालुवा निकाल्छौँ, त्यही ठाउँमा हिउदको समयमा मेसिन डोजर लगाइदो रहेछ, अनि अर्को वर्षदेखी त्यहाँ बालुवा निकाल्न निकै नै जोखिम हुन्छ ।’

राम्रै कमाइ हुने भएकाले मध्ये वर्षातको समयमा ज्यान जोखिममै राखेर भएपनि मदजुरहरु बालुवा निकाल्न तल्लिन भएका छन। सुरक्षाको कुनै पनि विधि नअपनाउदा बालुवा निकाल्ने मजदुरहरुको ज्यान एकदमै जोखिममा रहेको छ । राजमार्ग क्षेत्रका प्रहरी कार्यलयहरुका अनुसार यसवर्ष त्रिशुली नदी किनारका विभिन्न ठाउँबाट ३ जना मजदुरहरु बालुवा निकाल्ने क्रममा त्रिशुली नदीमा हराइरहेका छन् ।

अन्नपूर्ण पोष्ट 

विशेष