Technology

लाइभ टिभी, मुभी र भिडियो हेर्न टेलिकमले ल्यायो 'वाउटाइम एप'

लाइभ टिभी, मुभी र भिडियो हेर्न टेलिकमले ल्यायो 'वाउटाइम एप'

काठमाडौ ।  नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले ‘वाउटाइम’ एप्समार्फत लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइलबाट हेर्न तथा सुन्न सक्ने भएका छन्।

यस प्रकारको सेवा उपलब्ध गराउने उक्त ‘वाउटाइम’ एप्स मंगलबारबाट सञ्चालनमा ल्याएको नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । नेपाल टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा उक्त एप्स सञ्चालनमा आएको हो ।

उक्त एप्समार्फत लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषालगायत विभिन्न विधाका १३० च्यानल हेर्न सकिने र भविष्यमा च्यानलको सङ्ख्या आवश्यकताअनुसार थप्दै जाने योजना रहेको टेलिकमले जनाएको छ ।

नेपालमा उपलब्ध एफएम रेडियोसमेत यही एप्समार्फत सुन्न सकिनेछ । यो सेवा नेपाल टेलिकमका जिएसएम तथा सिडिएमएका प्रिपेडरपोस्टपेड ग्राहकलाई मात्र उपलब्ध हुनेछ ।

हाललाई दसैंतिहारको अवसरमा पहिलो एक महिनाका लागि एप्स उपयोग गर्दा लाग्ने उपभोक्ता शुल्क नलिई यो सेवा उपलब्ध गराइएको समेत टेलिकमले जनाएको छ ।

एक महिनापछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिन्छ ।

सो मोबाइल एप्स गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ। मोबाइलमा मोबाइल एप्स डाउनलोड गरी आफ्नो नाम र मोबाइल नम्बर हाल्नासाथ प्राप्त हुने पिन नम्बरलाई प्रमाणित गरी रजिस्ट्रेसन गरेपछि यसको प्रयोग गर्न सकिनेछ ।

विशेष