दर्शकको भोटको अपमान भएपछि नेपाल आइडलमा फेरि भोट नहाल्ने अभियान
निर्देशक भन्छन्, ‘भोट गर्न मन लागे गर्नुस् नत्र...’
काठमाडौं । एपी वान टेलिभिजनमा प्रशारण भइरहेको सिंगिङ रियालिटी सोमा दर्शकले दिएको मतलाई बेवास्ता गरिएपछि चौतर्फी कार्यक्रमको आलोचना भएको छ ।
भोटिङलाई पैसा कमाउने माध्यममात्रै बनाएको भन्दै अधिकांश भोटरहरु नेपाल आइडलप्रति आक्रामक बनेका छन् ।
एक भोटबाट झन्डै ६ रुपैया कमाउने गरेको नेपाल आइडलले बिहीबार दर्शकमा मत हालेर उत्कृष्ट तीन प्रतिस्पर्धी छान्न लगायो । भोटिङ पनि भयो । लाखौ रुपैया नेपाल आइडलले संकलन पनि गर्यो । तर शुक्रबार सो कार्यक्रमबाट उत्कृष्ट तीन छानिएनन् । अब फेरि दर्शकले पैसा खर्च गरेर उत्कृष्ट तीन छान्नु पर्ने छ । यो हिसाबले एक एपिसोड लम्ब्याउँदा पनि कार्यक्रमले लाखौ रुपैयाँ कमाउने भएपछि यस्तो गरिएको आरोप दर्शकहरुले लगाएका छन् । त्यो भन्दा पनि महत्वपूर्ण त मत हाल्न लगाएर रिजल्ट स्थगित गर्नु भनेको मतको अपमान हो भन्दै अबदेखि भोट नगर्ने मनस्थितिमा दर्शक पुगेका छन् ।
फेसबुकमा एक दर्शक सन्तोष सिग्देलले लेखे ‘कतारको खर्च उठेन होला । अनि कार्यक्रम लम्ब्याइयो ।’
फेसबुकमा बचन ढुंगेल लेख्छन्, ‘नेपाल आइडलको आजको निर्णयले कतै हारेको व्यक्तिलाई जिताउने षडयन्त्र त हैन ? ’
फेसबुक प्रयोगकर्ता प्रह्लाद गुरागाईले त नेपाल आइडलले नाटकको पराकाष्ठा नाघेको टिप्पणी गरेका छन् ।
उनले लेखेका छन्, ‘ नियम आफ्नै होला, त्यसमा भन्नु केही छैन । हो, प्रतिष्पर्धा चार जनाका लागि होला तर मनोरञ्जन आम दर्शकका लागि हो ।
नेपाल आइडलको आजको निर्णयले टेलिभिजनले बनाएको एउटा उचाईलाई ओझेलमा पारेको छ । दर्शकको भावनालाई ठेस लगाएको छ ।
दर्शकको एसएसएमबाट प्राप्त हुने रकमलाई आम्दामीको श्रोत बनाएको छ । एक दर्शकको तवरबाट टेलिभिजनको यो निर्णयप्रति आपत्ति, सायद टेलिभिजनमा आवद्ध हुनेहरुलाई मेरो विचार कटु लागेपनि आम दर्शकलाई भने उचित लाग्न सक्छ ।
फेरि पनि,...अहिले नेपाल आइडलको रिपिट शो हेदैछु । यो शो रियालिटी शो भन्दा पनि ड्रामा शो जस्तो लाग्यो । किनकी उद्घोषिका रिमा अनि उद्घोषक शुसिल भन्दैछन, ‘रिजल्ट हाम्रो हातमा आइसक्यो । कार्यक्रमको अन्त्यमा हामी रिजल्टको घोषणा गर्नेछौ ।’ हातमा आएको रिजल्टलाई निर्णायक महोदयले च्याटच्युत गरिदिनु भयो । हाहाहा.....मलाई त चलचित्र दुई रुपैयाको टेलर जस्तै लाग्यो आजको नेपाल आइडलको श्रृखला । सारंशमा यो रियालिटो शोको पगरी हटाएर नाटकिय शो भने फरक नपर्ला ।’
कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले दर्शकलाई नै अपमान हुने गरी फेसबुकबाटै जवाफ फर्काएका छन् । उनले लेखेका छन्, ‘ कोही आउट हुँदा भन्दा आज सबै सुरक्षित हुदा सोसियल साइटका भित्ता पिडाले भरिए । रहयो भोट को कुरा.. जजहरुले मात्र एक हप्ताको लागि सुरक्षीत गर्नु भएको हो । अखिर जनताबाट आएको भोट कही गएको छैन जुन अर्को हप्ता गणना हुनेछ । फेरि पनि भोट गर्नु न गर्नु मान्छे मा भर पर्ने कुरा हो । यदि माया ले गर्न भयो भने यहि भोट मा थपिदै जाने हो गर्नु भएन भने पनि प्रतिस्पर्धीले पाउनु पर्ने भोट पाई सकेको छ । जित्नको लागि कुनै भोटको संख्या तोकिएको छैन मात्र अलि बढी ल्याए पुग्छ । भोट् गर्नु न गर्नु नितान्त तपाईंको ब्यक्तिगत कुरा हो । गर्नु हुन्छ खुसी ले गर्नुस होइन भने प्रतियोगिहरुलाई एक हप्ताको लागि आइडलले आफूसँग राख्दा यस्तो रियक्सन किन ?’
निर्देशक पौडेलेको यो प्रतिक्रियामा एक दर्शकले लेखेका छन्, ‘ आफुले खाजा खाने खर्च काटेर स्कुलका बच्चाबच्चीदेखि विद्यार्थी र अन्य सम्पुर्णले आज आफुले चाहेको प्रतिस्पर्धीलाई सुरक्षित गर्न सकिन्छ कि भनेर सकेसम्म ज्यादा भोट गरे रिजल्ट आउने अन्तिम घडीमा अर्को ब्यापारिक स्वार्थ तेस्र्याएर अर्कै निर्णय गरिन्छ । यो स्वीकार्य छैन । र, अहिले आफ्नो स्वार्थ अनुकुल एपिवानले बर्णन गर्दैछ कि पहिला नै दुई हप्ते भोटिङको निर्णय गरेको भए स्वीकार्य हुने थियो भोटिङ भैइसकेको अबस्थामा यस्तो निर्णय कतै उचित छैन । ’
दर्शकले दिएको मतको अपमान त सोझै गरेको देखियो । आम दर्शकले शुक्रबार सेभ भएका प्रतियोगि अर्को हप्ता आउट भयो भने के गर्ने ? भन्ने प्रश्न पनि गरेका छन् ।
उद्घोषकहरुले रिजल्ट हाम्रो हातमा आइसकेको छ । कार्यक्रमको अन्तिममा भन्छौं भन्छौं भन्दै अन्तिममा स्थगित गरेर झुक्याएको भनेर पनि आक्रोश पोखेका छन् ।