विचार

दिपकराज गिरीलाई ‘ए दाजु नसमाऊ नाडीमा’ पछि अर्को चोरीको आरोप

दिपकराज गिरीलाई ‘ए दाजु नसमाऊ नाडीमा’ पछि अर्को चोरीको आरोप

रमण पनेरु

दिपकराज गिरी छक्का पञ्जाले चर्चाको शिखर चुम्दै गर्दा देखि थुप्रै विवादहरुमा समेत तानिए । कहिले महिला प्रतिको एकदमै संकिर्ण धारणा प्रस्तुत गरेकोमा उनको विरोध भयो त कहिले प्रतिलिपि अधिकार हनन गरेको आरोप लागेका एक युवाले आत्महत्या गरेको सन्दर्भमा उनी पटकपटक आलोचनाका पात्र बनि रहे । त्यतिमात्रै नभएर सुदूरपश्चिमका दर्शकहरुमाझ उनको छवि त्यति राम्रो हुन सकेन । त्यसको कारण उनले सो चलचित्रमा प्रयोग गरेको भाषा थियो । अछामी भाषा भनेर जथाभावि बोलेको अछामी भाषी र अछामी भाषा सुनेका कसैलाई पनि चित्त बुझेन । त्यति हुँदा हुँदै पनि उनको चलचित्र व्यावसायिक रुपमा एकदमै सफल भयो ।

यति विवादपश्चात छक्का पञ्जा दुई बनाउँदै गर्दा पनि उनी विवादमा आउन छाडेनन् । पहिलो विवाद त उनले कान्छा नेपालीको ‘नसमाउ नाडीमा’ बोलको गीत अनुमति विना नै गाएको भनेर सुरु भयो । पहिले आफै मात्र गीतकारमा उल्लेख भएको सो गीतमा पछि कान्छा नेपालीका नाती प्रिन्स नेपालीको नाम समेत उल्लेख गरिएको थियो । यो चोरीको बचाउ गर्नका लागी उनले लामै समय तर्क वितर्क गरेपनि जनस्तरमा सबैले कान्छा मगर नेपालीको प्रति अन्याय भएको नै माने । त्यसैले पहिलेका ‘सुर्के थैली खै’, ‘पुर्वपश्चिम रेल’ जस्ता गितहरुको तुलनामा यो गीत त्यति माथि उठ्न सकेन ।

त्यो विवादका कारण हुनुपर्छ उनले फेरी अर्को गित तयार पारे । उनका हरेक चलचित्रमा एउटा सुर्के थैली र पूर्वपश्चिम रेल जस्ता चर्चित गित हुने गर्दथे । त्यसैको निरन्तरता ‘नसमाउ नाडीमा’ गितले दिन नसकेकोले होला उनले सुटिङ्ग सकिएपछि पनि थप एक गीतको मिहिनेत गरे । तर विडम्बनाको कुरा यस पटक पनि उनलाई गीत चोरेको आरोप लाग्यो । अघिल्लो पटक कान्छा मगर नेपालीको गीत चोरेको आरोप लागेका उनलाई यसपटक डिमार्चा ब्याण्डको गीत चोरेको आरोप लाग्यो ।

डिमार्चाको भाका चोरीको आरोप लाग्दै गर्दा यसको थप खोजी पनि सुरु भयो । यो भाकाको वास्तविक श्रोतको खोजी पनि सुरु भयो । यो भाका डि मार्चा पछि श्रृंखला जोशीले पनि गएकी रहेछिन् । उनकै गितमा गणेश परियार र नन्दकृष्ण जोशीलाई यो गितको श्रेय दिइएको पाइएपछि बल्ला यो भाकाको वास्तविक श्रोत सुदूरपश्चिमका देउडा गायक नन्दकृष्ण जोशी भएको थाहा भयो ।

त्यसो त यो गित हालसालै पनि नेपाल आइडलमा सन्ध्या जोशीले गाएकी थिइन् । नेपाल आइडलले पनि वास्तविक गित र लय संकलनको श्रेय दिने क्रममा नन्दकृष्ण जोशी र नरेन्द्रराज रेग्मीलाई दिएको छ । वास्तविक गायकका रुपमा पनि उनै नन्दकृष्ण जोशीको नाम उल्लेख गरेको छ ।

दिपकराज गिरीको छक्का पञ्जासम्म आइ पुग्दा भने त्यो क्रम टुटेको छ । छक्का पञ्जाको गितको शिर्षक नै पनि फेरेर ‘म त यता किनारमा’ राखिएको छ । हरिवंश आचार्य र आस्ता राउतको स्वर रहेको यो गितमा संगित उत्तम संजेल उल्लेख गरिएको छ भने संगित संयोजकमा आलमोडाराना उप्रेती रहेका छन् । आलमोडा यस अघि विवादमा आएको नसमाउ नाडिमा गितको समेत संगित संयोजक थिए ।

गायक नन्दकृष्ण जोशीका पुराना अन्तर्वार्ताहरुमा उनले आफ्नै स्वरमा यो गित स्वरबद्ध गरेका छन् । फाटेका जाँघे (सुरुवाल) लाउँदै सबैको हाँसो र उपहासको पात्र भएर सुदूरपश्चिम र मध्यपश्चिमका भाकाहरु आम सञ्चार माध्यम सम्म पु¥याउन जीवनभर लागी रहने नन्दकृष्ण जोशी जस्ता श्रष्टाहरुलाई उनले संकलन गरेको भाकाको श्रेय दिन सम्म कञ्जुस्याँइ गर्नु र सांस्कृतिक पहिचान बोकेका यस्ता भाकाहरुको मौलिकता नै मेटिने गरेर तिनको व्यवसायिक रुपहरु बाहिरिनुले त्यस्ता भाकालाई क्षणिक चर्चा त अवश्यै दिन्छ तर त्यसले मौलिकतालाई भने पुरै मेटिदिन्छ । अझै पनि डोटेली भाषा नेपालका ३ प्रतिशत जनताले बोल्ने भाषा हो । यो भाषा नै नेपाली भाषाको मूल भाषाका रुपमा मानिन्छ । जुम्लाको सिञ्जा उपत्यकाबाट उत्पत्ति भएको नेपाली भाषाको इतिहास बोकेको डोटेली भाषा र भाका माथिको यस किसिमको प्रहारले छक्कापञ्जा समूहले पक्कै पनि इतिहासप्रति अन्याय गरेका छन् । आशा छ उनीहरुले यो भूल समयमै सच्याउने छन् ।

अचम्मको कुरा के छ भने धुर्मुस सुन्तलीले निर्वाचन आयोगको जनचेतनामुलक विज्ञापनमा मुखमा कालो पोतेको र भाषा विगारेर मधेसी जनताको मनमा ठेस पुर्याएको भनेर विवाद आउँदा सो विज्ञापन तुरून्तै हटाइन्छ तर सुदूरपश्चिमेली जनताको भाषा र भाका विगार्दा चाहिँ कहि कतै माफि मागिएको या गल्ती स्वीकार गरिएको पाइँदैन । सायद सुदूरपश्चिमेली जनताहरू आफै पनि आफ्नो भाषा र भाकाका सन्दर्भमा चनाखो हुनुपर्ने पो हो कि ? नत्र त्यहाँका भावी सन्ततीलाई संस्कृति र संस्कार चिनाउन नै नसकिने अवस्था आउन सक्छ ।

Raman Paneru

विशेष